तरलताको समस्या सम्बोधनका लागि अर्थले बैंकरहरुको सुझाव सुन्यो, के गर्दैछ त तयारी ?

Advertisement

काठमाडौं । राज्यकोषमा रकम थुप्रिएर बैंकिङ क्षेत्रमा बारम्बार देखिदै आएको तरलता अभावको समस्यालाई सम्बोधन गर्न अर्थ मन्त्रालयले स्थानीय निकाएमा जाने अनुदान रकमको ५० प्रतिशत वाणिज्य बैंकको खातामा राख्न पाउने व्यवस्था गर्न लागेको छ ।

अर्थ मन्त्रालयले राष्ट्र बैंक र महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेखेर स्थानीय निकायमा जाने अनुदानको ५० प्रतिशत रकम राष्ट्र बैंकबाट निकाल्न मिल्ने व्यवस्था मिलाउन लागेको हो ।

सरकारको धुकुटीमा पैसा थुप्रिएर बजारमा तरलताको अभाव भएको भन्दै बैकर्सहरूले अघिल्लो वर्षदेखि नै सरकारलाई उक्त रकम निक्षेपको रुपमा बैंकमा राख्न पाउने व्यवस्था मिलाइदिन अनुरोध गर्दै आएका थिए । सरकारले राजश्वको रुपमा संकलन गरेको रकम बेलैमा खर्च हुन नसक्दा प्रायजसो आर्थिक बर्षको दोस्रो त्रैमासपछि बजारमा तरलताको अभाव हुने गरेकोमा यसपाली भने यस्तो समस्या अगाडीनै देखापरेको छ ।

अर्थ मन्त्रालयले अनुदान रकमको ५० प्रतिशत रकम बैंक खातामै रहने व्यवस्था चाँडै कार्यान्वयनमा ल्याउन राष्ट्र बैंक र महालेखा नियन्त्रक कार्यालयलाई आग्रह गरिएको बताएको छ।  संवैधानिक व्यवस्था अनुसार हरेक स्थानीय तहको खाता वाणिज्य बैंकमा हुनुपर्छ र सोही खाताबाट स्थानीय निकायले आफ्नो दैनिक क्रियाकलाप संचालन गर्नुपर्ने हुन्छ ।

अहिले संघीय सञ्चित कोषबाट स्थानीय निकायको अनुदान हस्तान्तरण हुने बित्तिकै स्थानीय निकायको खाता संचालन गर्ने वाणिज्य बैंकमा सो रकम जाने भएपनि त्यस्तो रकम राष्ट्र बैंकले तत्कालै सम्बन्धित वाणिज्य बैंकको खाताबाट निकाल्ने गरेको छ । जसलेगर्दा अहिले स्थानीय निकायबाट आएका चेकको भुक्तानी राष्ट्र बैंकले शोधभर्ना गरेपछि मात्र बैंकहरुले उक्त शोधभर्ना हएको रकम चलाउन पाउँछन् । तर अब यो नयाँ व्यवस्था लागू भएपछि भने संघीय सरकारबाट गएको अनुदानको ५० प्रतिशत बैंक खातामै रहन्छ र सो रकम बैंकरूले खर्च निक्षेपको रुपमा राखेपछि लगानी पनि गर्न सक्नेछन् ।

संविधानले स्थानीय तहलाई समानीकरण अनुदान, ससर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान गरी चार किसिमका अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ ।

सरकारको यस नया नितिले बैंकले आवधिक रुपमा पटक पटक भोग्दै आएको तरलता अभावलाई केही मात्रामा भएपनि सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

Advertisement

Advertisement

Advertisement