माथिल्लो तामाकोसीको आइपीओमा चार गुणाभन्दा बढीको आवेदन पर्यो, भर्नेजति सबैले पाउने

Advertisement

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको प्राथमिक सेयर (आइपीओ) का लागि आवेदन गर्नेजति सबैले पाउने भएकाछन् । आयोजनाको सेयर बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार जम्मा तीन लाख ४६ हजार एक सय ६६ जना लगानीकर्ताहरुले आइपीओमा आवेदन गरेका छन् ।

उक्त लगानीकर्ताहरुबाट छ अर्ब ७० करोड ५८ लाख २८ हजार रुपियाँ बराबरको आवेदन परेको कोषका उप व्यवस्थापक रोशनजंग कार्कीले जानकारी दिए । यसअघि आयोजना प्रभावित स्थानीयको कोटाबाट सेयर पाएकाहरुले अहिले भरेमा त्यो रद्द गरिने उनले बताए ।

त्यसैगरि संचयकोषमा रकम जम्मा गर्नेहरु, विद्युत प्रधिकरण, नागरिक लगानी कोषका कर्मचारी लगायतले पनि पुनः सेयर भरेमा त्यो आवेदन रद्द हुने कार्कीले जानकारी दिए । ‘यसअघि सेयर पाएकाहरुले भरेको भए त्यो रद्द हुन्छ, जसले गर्दा यो संख्या घट्न सक्छ,’ कार्कीले भने, ‘यो भेरिफाई गर्नुपर्ने भएकोले बाँडफाँडका लागि कम्तीमा १५ दिन लाग्ने देखिन्छ ।’

आयोजनाले कुल एक करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ सर्वसाधारणका लागि जारी गरेको थियो । आइपीओमा आवेदन भर्न न्युनतम ५० कित्ता र अधिकतम एक हजार कित्ता तोकिएको थियो । न्युनतम ५० कित्ताका लागि एक लाख २६ हजार एक सय १३ जनाले आवेदन भरेका छन् भने अधिकतम एक हजार कित्ताका लागि २६ हजार तीन सय २२ लगानीकर्ताहरुले आवेदन भरेका छन् ।

यदी सर्वसाधारणका तर्फबाट परेको यो आवेदन संख्यालाई आधार मान्ने हो भने ४० कित्ता सेयर सबै आवेदकले पाउने छन् । सबै आवेदकलाई ४० कित्ता बाँडफाँड गर्दा एक करोड ३८ ४६ हजार छ सय ४० कित्ता बाँडफाँड हुन्छ । बाँकि रहने २० लाख ३८ हजार तीन सय ६० कित्ता सेयरका लागि पुनः गोलाप्रथाबाट दुई लाख तीन हजार आठ सय ३६ जनालाई १० कित्ताका दरले बाँडफाँड गर्न हुनेछ । अर्थात सो थप १० कित्ताले ५० कित्ताका दरले सर्वसाधारण लगानीकर्ताले सेयर पाउने छन् ।

अयोजनाको आइपीओमा आवेदन भरेका मध्ये आधाभन्दा बढी लगानीकर्ताले ५० कित्ता पाउने देखिन्छ । यदी आयोजना प्रभावित स्थानीयबाट पुनः आवेदन परेको र सो आवेदन रद्द हुँदा ५० कित्ताभन्दा बढी पाउन सक्नेछन् ।

धितोपत्र बाँडफाँडको पछिल्लो निर्देशिकाले लगानीकर्तााई समानता प्रदान गरेको छ । जसले गर्दा धेरै संख्यामा आवेदन दिँदा धेरै कित्ता पर्ने प्रचलन अन्त्य भएको छ । तर यो व्यवस्था थाहा नहुँदा धेरै रकम बैंकमा ब्लक भएको छ ।
अधिकतम आवेदन १ हजार कित्ता तोकिएको माथिल्लो तामाकोसीमा २६ हजार ३२२ जनाले सो संख्याका लागि आवेदन दिएका थिए । सो संख्याको मात्रै कुल २ अर्ब ६३ करोड २२ लाख रुपैयाँ विभिन्न बैंकका खातामा ‘ब्लक’ भएको छ ।
यदी यो संख्याले ५० कित्ताका दरले मात्रै आवेदन दिएको भए २ अर्ब ५० करोड रुपैयाँ बैंकहरुमा थप तरलता रहने थियो । धेरै रकमको आवेदन दिँदा तरलता समस्यालाई समेत बल पुगेको छ ।

अर्कोतर्फ आवेदकले ब्लक भएको रकम सेयर बाँडफाँड नभएसम्म झिक्न पाउँदैनन् । यसले उनीहरुको कारोबारमा समेत असहजता थपिन सक्छ ।

Advertisement

Advertisement

Advertisement