कोरला नाका सुरक्षा र सञ्चालन गर्न सेना र सशस्त्रको क्याम्प स्थापना

Advertisement

काठमाडौं । नेपाल र चीनबीचको व्यापारीक सम्बन्धका लागि कोरला नाका सञ्चालनका गर्न सरकारले सुरक्षा तयारी थालेको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत पहुँचमार्गको स्तरवृद्धिलाई तिव्रतासँगै लोमान्थाङमा नेपाली सेना र गरेश्वरमा सशस्त्र प्रहरीको क्याम्प स्थापना गरेको हो ।

कोरला नाकादेखि २६ किलोमिटर नेपालतर्फ पर्ने लोमान्थाङमा आइतबार मेजरको नेतृत्वमा सेनाको क्याम्प स्थापना गरिएको हो ।

कोरला नाकाको प्रवेशबिन्दु म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वरमा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सशस्त्र प्रहरीको गुल्म स्थापना भएको छ । कुश्मास्थित सशस्त्र प्रहरीको चण्डिका गण अन्तर्गतको गुल्ममा हाल ३५ जना प्रहरी खटिएका छन् ।

अस्थायी रुपमा स्थापना भएको गुल्मलाई भौतिक पूर्वाधारको व्यवस्था गरेर स्थायीमा रुपान्तरण गरिने र जनशक्ति पनि थप हुने प्रहरी नायब उपरीक्षक अर्जुन कार्कीले बताए ।

जोमसोमस्थित बज्रदल गण अन्तर्गत रहने गरी स्थापना भएको क्याम्पमा हाल ५० जना सेनाको टोली खटिएको छ ।
क्याम्प समुद्री सतहदेखि ४ हजार मिटरको उचाइमा अवस्थित छ । सेनाको क्याम्प राख्न एक हजार २१७ रोपनी जग्गाको व्यवस्थापन गरी भवन लगायत पूर्वाधार निर्माण गरिएको मुस्ताङका सहायक प्रजिअ विश्वेश्वरप्रसाद रेग्मीले बताए ।
‘आवश्यक जग्गा र पूर्वाधारको व्यवस्थापन गरेपछि क्याम्प राखिएको हो’, रेग्मीले भने, ‘उपल्लो मुस्ताङमा सुरक्षाको पहुँच बढ्ने र विपद् व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा छ ।’

मुस्ताङका सांसद प्रेमप्रसाद तुलाचनले सेनाको क्याम्प स्थापना भएपछि लोमान्थाङमा रहेको युरोनियम खानीको सुरक्षा र कोरला नाका सञ्चालनका लागि सुरक्षाको प्रत्याभूतिको सन्देश प्रवाह हुने बताए ।

कोरला नाकानजिकै पर्ने नेचुङ भन्सार कार्यालय २१ वर्षपछि २०७३ मा पुनः स्थापना भएको थियो । जोमसोमदेखि ११० किलोमिटर उत्तरतर्फ अवस्थित कोरला नाकामा सहज रुपमा यातायातको पहुँच पुर्याउन ५ वटा प्याकेजमा दुई लेनको ग्राभेल सडक निर्माण भइरहेको छ ।

म्याग्दीको बेनीदेखि मुस्ताङको जोमसोमसम्मको ७६ किलोमिटर दूरीको सडक २ लेनको कालोपत्रे गर्ने तयारी भएको छ । नवलपरासीको बर्दघाटदेखि मुस्ताङको कोरला जोड्ने ४०६ किलोमिटर दूरीको कालीगण्डकी कोरीडोर भारत र चीन जोड्ने नेपालकै छोटो सडक हो ।

गण्डकी प्रदेशको लाइफ लाइन मानिएको कालीगण्डकी कोरिडोर अन्तर्गत बागलुङ, गुल्मी, पर्वत खण्डमा सडकको ट्र्याक खुलेको छ ।

Advertisement

Advertisement

Advertisement