‘सरकारको गति अब गाडीबाट रेल, रेलबाट जहाज, त्यसपछि जेट विमान हुँदै रकेटको स्पीडमा पुग्छ’

Advertisement

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकारले अब ‘पिक–अप’ लिने दावी गरेका छन् ।

रिपोर्टर्स क्लबमा आइतबार उनले भने, ‘सरकारले अब गति लिन्छ । वर्तमान प्रधानमन्त्री यसअघि प्रधानमन्त्री हुँदापनि सफल नै हुनुभएको थियो । अब पनि सफल हुनुहुन्छ । तर, अहिल्यै नै सरकार सफल कि असफल भनेर मुल्यांकन गर्ने बेला भएको छैन् ।’

नेता रायमाझीले सरकारको गति अब विस्तारै गाडीबाट रेल, रेलबाट हवाईजहाज र त्यसपछि जेट विमान हुँदै रकेटको स्पीडमा पुग्ने विश्वास दिलाए । उनले भने, ‘अहिले पनि सरकारले आफ्नो गति पहिलो, दोस्रो र तेस्रो गियर थप्दै बढाएर लैजान्छ ।’

नेता रायमाझीले वर्तमान सरकारले काम गर्न सकेन, असफल भयो, अब अर्कै गठबन्धनको सरकार बनाउनुपर्छ, काठमाडौं उपत्यकाका खाल्डाखुल्डीहरु पुर्नसमेत सकेको छैन भनेर चर्चा तथा परिचर्चा भैरहेको सुनाए ।

उनले थपे, ‘यो सरकारकाको पूर्ण समिक्षा गर्ने स्थिति अहिले छैन् । सरकारको कामको बारेमा आंशिक समीक्षा गर्न सकिन्छ, तर पूर्ण समीक्षा गर्ने अवस्था अहिले होइन् । सरकार गठन भएको एक वर्ष पनि पुगेको छैन् । यो सरकारसामू ठूला–ठूला अवसरहरु छन् । सरकारसँग दुई तिहाई बहुमत छ । र, विकास र समृद्धि भन्ने एकसूत्रीय एजेण्डा छ ।’

सरकारलाई काम गर्नका लागि प्रमुख प्रतिपक्षी दलले पनि कुनै अवरोध नगरेको रायमाझीले बताए । उनले भने, ‘सरकारलाई विकास निर्माण र समृद्धिको लागि प्रतिपक्षी दलको पनि पूर्ण समर्थन छ । कुनै अवरोध छैन् । बरु प्रतिपक्षीले सरकारलाई अझै आलोचना गर्नुपर्छ । आलोचना र विरोध गर्न अझै पुगेको छैन् । सरकारलाई जागरुक गर्नुपर्ने, उठाउनुपर्ने विषय अझै जोडतोडका साथ उठाउनुपर्छ । प्रतिपक्षीको भूमिका अझै पुगेको छैन भन्ने मेरो ठम्याई छ ।’

विश्वका कुनैपनि देश रातारात समृद्ध नभएको सुनाउँदै रायमाझीले मुलुकको समृद्धिको लागि सबैले एक साथ आफ्ना कदमहरु अघि बढाउनुपर्ने धारणा राखे । खाल्डाखुल्डीहरु त यो सरकार आउनुभन्दा पहिला पनि भएको उनले जिकिर गरे ।

रायमाझीले भने, ‘यसअघिका सरकारको पालामा पनि खाल्डाखुल्डीहरु थिए । अब खाल्डाखुल्डीहरु क्रमशः पुर्ने काम अघि बढ्छ । एक वर्षभित्र सबै खाल्डाखुल्डीहरु पुरिन्छन् । पाँच वर्षभित्र रेल आउने आधार बन्ने उनको भनाई छ । रायमाझीले भने, ‘सडक सञ्जालमात्रै होइन, अब रेल सञ्जालले पनि नेपाललाई जोड्छ ।’

फरक प्रसंगमा उनले नेकपाभित्रको एकता अब चाँडै सम्पन्न हुने बताए । उनले भने, ‘पार्टी मुख्य कुरा विचार र नीतिले चलाउनुपर्छ । नेता केन्द्रित हुनुहुँदैन् । नेकपामा मात्रै होइन, सबै पार्टी नीति र विचारले चल्नुपर्छ ।’ उनले छठपछि जनवर्गीय र पेशागत संगठनहरुको एकता सम्पन्न हुने दाबी गरे । तर, पोलिटव्यूरो, प्रदेशस्तरीय र जिल्ला तहमा भने केही समय लाग्ने उनले जनाए ।

अहिले राष्ट्रिय सहमतिको सरकारको चर्चा गर्नु नै गलत भएको रायमाझीको तर्क छ । उनले भने, ‘प्रतिपक्षी दलले समेत राष्ट्रिय सहमतिको सरकार अस्विकार गरेको अवस्थामा कहाँबाट आयो यो कुरा ? यो सरकारलाई सफल बनाउनुपर्छ । यसको विकल्प छैन् । दुई तिहाईको सरकारले मुलुकमा विकास र समृद्धि दिन्छ । यदि यो सरकार असफल भयो भने सिँगो राष्ट्र नै असफल हुन्छ । यो सरकारसँग हामीपनि जोडिएका छौं । हामी मन्त्री भएपनि नभएपनि सरकारलाई सफल बनाउनुपर्छ । यो प्रणालीलाई बचाउनुपर्छ ।’

Advertisement

Advertisement

Advertisement