एनआरएनए मध्यपूर्व संयोजक आरके शर्मा अझै प्रहरी हिरासतमा, परिवारलाई समेत भेट्न दिइएन

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघका मध्यपूर्व संयोजक राजेन्द्र कुमार (आरके) शर्मालाई कतारको सुरक्षा निकायले गिरफ्तार गरेर पारिवारिकलगायत कसैको पनि पहुँच र प्रत्यक्ष सम्पर्क भन्दा बाहिर राखेको छ ।

करिव तीन साताअघि पक्राउ परेका उनलाई परिवार र अन्य पक्षलाई समेट भेट्न नदिइएपछि संघले चिन्ता जनाएको छ । कतारमा ठेक्कापट्टा व्यवसाय गर्दै आएका शर्मा तत्कालिन माओवादी केन्द्र पार्टीसँग निकट व्यक्ति हुन ।

दशैं अगाडि कतारमा आयोजना गरिएको एक साँस्कृतिक कार्यक्रममा श्रमिकहरुलाई शोषण गरिएको नाटक प्रस्तुत गरेकाले उनलाई कतार प्रहरीले पक्राउ गरेको समाचार बाहिर आए पनि अन्य कारण भने खुलाइएको छैन । गत अक्टोवर ५ तारिकमा दोहामा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कतार शाखाको आयोजनामा भएको एक साँस्कृतिक कार्यक्रममा रोजगारदाताले नेपाली कामदारलाई दिएको पीडाको विषय समेटिएको जनाइएको छ ।

संघले शर्माको गिरफ्तारीको कारण के हो ? भन्ने विषय र अवस्थाका बारेमा अहिलेसम्म कतारको सरकारी निकायले आधिकारिक जानकारी नगराएको जनाएको छ । गिरफ्तार गरिएको तेस्रो दिन छोटो समय परिवारका सदस्यसँग कुरा गर्न दिए पनि त्यसपछि कुनै पनि सम्पर्क गर्न दिइएको छैन ।

उक्त साँस्कृतिक कार्यक्रममा शर्मा आयोजक नभई अथिति मात्रै भएको संघको भनाई छ । उनीबाहेक उक्त कार्यक्रमका आयोजक प्रतिष्ठानका उपाध्यक्ष शक्ति क्षेत्री र कलाकारहरु रामबाबु बोहरा, रितकुमार श्रेष्ठ र कृष्ण ढकाललाई पनि कतारको सुरक्षा निकायले कार्यक्रमपछि नियन्त्रणमा लिएको बुझिएको संघको विज्ञप्तिमा उल्लेख छ ।

शर्माले परिवारका सदस्यहरुसँग कुरा गर्दा नेपाली समुदायको नेतृत्वकर्ता भएर पनि त्यस किसिमको कार्यक्रम किन रोक्ने प्रयास नगरेको भन्ने विषयमा नै सोधखोज केन्द्रित रहेको जानकारी दिएको बताएका खुल्न आएका छ ।

आरके शर्माको गिरफ्तारीपछि संघले कतारस्थित नेपाली दूतावास, परराष्ट्र मन्त्रालयलगायत सम्बन्धित निकायहरुमा उनको अवस्था यकिन गर्न र रिहाइका लागि आवश्यक पहल गरिदिन अनुरोध गरिएको संघले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement