काँग्रेसभन्दा कम्युनिष्ट खर्चालु, काँग्रेसको भन्दा नेकपाको चियापानमा चार गुणा बढी खर्च

Advertisement

काठमाडौं । सधैँ सामूहिकता, मितव्ययिता जस्ता नारा घन्काउने कम्युनिष्टहरू काँग्रेसभन्दा बढी भड्किला, महंगा र खर्चालु देखिएका छन् ।

कम्युनिष्टहरू कत्तिको तडकभडक छन् भन्ने कुरा दशैँ, तिहार, छठ, नेपाल सम्वत्का अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)द्वारा आयोजित शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा भएको खर्चबाट नै प्रष्ट हुन्छ ।

हुन त उक्त पार्टीका कुनै नेता आफ्ना कार्याकर्ता नै बढी भएकाले खर्च त्यही अनुपातमा बढेको तर्क गर्छन् तर यस वर्षको चियापानमा नेकपाको खर्च काँग्रेसको भन्दा चार गुणाले बढी देखिएको छ ।

अहिलेसम्म प्राप्त खर्च तथ्याङ्कअनुसार नेकपाले यो चियापानमा ४० लाख रुपियाँ र नेपाली कांग्रेसले १० लाख रुपियाँ खर्च गरेको देखिएको छ ।

पार्टी एकीकरणपछि पहिलोपटक आयोजित उक्त कार्यक्रममा ५० हजार जनालाई निमन्त्रणा गरिएको नेकपाको दावी थियो । नेकपाद्वारा आयोजित चियापानमा खाजामा मात्र २९ लाख रुपियाँ खर्च भएको छ । चियापानमा उपस्थिति भएका आमन्त्रित पाहुना तथा नेता÷कार्यकर्तालाई चिया, कटौरी, निम्की केराको परिकार खुवाइएको थियो ।

नेकपा केन्द्रीय कार्यालयका लेखा शाखा प्रमुख खेम पौडेलले खाजामा मात्र २९ लाख रुपियाँको बिल आएको बताए । उनले भने– ‘३२ लाखको बिल कार्यालयमा प्राप्त भएको छ अझै आठ लाखको बिल आउने अनुमान गरेका छौं ।’

खाजाको बिल प्राप्त भए पनि कार्ड छपाइ, चियापानस्थलको व्यवस्थापन, टेन्ट, पानीलगायतको बिल कार्यालयमा नआइपुगेको पौडेलले जानकारी दिए । उनका अनुसार चियापानमा विभिन्न प्रकारका ७० हजार कार्ड छपाइएको थियो ।

उक्त कार्यक्रममा अस्वस्थताका कारण पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली सहभागी भएनन् । उक्त कार्यक्रम सम्पन्न भएको दुई साता बितिसक्दा समेत खर्चको बिल केन्द्रीय कार्यालयमा पुग्न सकेको छैन । केही वर्षदेखि कम्युनिस्टहरुले चियापान कार्यक्रमलाई निरन्तरता दिँदै भड्किलो खर्च गर्दै आएका छन् ।

चियापानको परम्परा थालेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने थोरै खर्चमा चियापान कार्यक्रम सम्पन्न गरेको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चियापानका लागि ७ लाख बजेट छुट्याइएको बताउँदै भने– ‘चियापानमा १६ हजारको उपस्थिति थियो, त्यसको खर्चको बिल सबै आइसकेको छैन, बढीमा १० लाख रुपियाँ खर्च भयो होला ।’

Advertisement

Advertisement

Advertisement