आठ कम्पनीले तीन अर्बको हकप्रद सेयर जारी गर्दै

Advertisement

काठमाडौं । विभिन्न आठ कम्पनीले रु तीन अर्ब ८३ करोड दुई लाख ७४ हजार ४५० बराबरको तीन करोड ८३ लाख दुई हजार ७४४ कित्ता हकप्रद सेयर बिक्री गर्ने तयारी गरेका छन् । ती कम्पनीले अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा विभिन्न समयमा आवेदन दिएका छन् ।

आवश्यक प्रक्रिया पूरा गरेपछि ती कम्पनीलाई हकप्रद शेयर बिक्री गर्न स्वीकृति दिइने बोर्डले जनाएको छ । बोर्डमा आवेदन दिएका कम्पनीमध्ये श्रीराम सुगर मिलले रु ८९ करोड तीन लाख ९४ हजार ९८१ मूल्य बराबरको ८९ लाख तीन हजार ९४९ कित्ता हकप्रद सेयर बिक्री गर्ने तयारी गरेको छ । उत्पादन क्षेत्रको सो कम्पनीले हकप्रद सेयर बिक्री गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

मिथिला लघुवित्त वित्तीय संस्थाले रु तीन करोड ९८ लाख आठ हजार ९६९ मूल्य बराबरको तीन लाख २९ हजार ८८९ कित्ता हकप्रद सेयर बिक्री गर्न काठमाडौँ क्यापिटललाई बिक्री प्रबन्धकसमेत तोकिसकेको छ । माइक्रोफाइनान्स समूहको सो कम्पनीले दुई बराबर एक कित्ताका दरले हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

त्यस्तै बरुण जलविद्युत् कम्पनीले एक बराबर एक कित्ता हकप्रद सेयर दिने प्रस्ताव गर्दै स्वीकृतिका लागि बोर्डमा आवेदन दिएको छ । सो कम्पनीले रु २५ करोड ५१ लाख १५ हजार मूल्य बराबरको २५ लाख ५१ हजार ५०० कित्ता सेयर बिक्री गर्ने जनाएको छ । कम्पनीले एनआइबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

नाडेप लघुवित्त वित्तीय संस्थाले पनि एक बराबर एक कित्ता हकप्रद सेयर दिने प्रस्ताव गर्दै स्वीकृतिका लागि बोर्डमा आवेदन दिएको छ । सो संस्थाले रु १६ करोड मूल्य बराबरको १६ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न नविल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

वित्त समूहको सिर्जना फाइनान्सले दश बराबर छ कित्ता हकप्रद सेयर बिक्रीको तयारी गरेको छ । सो कम्पनीले रु २४ करोड चार लाख आठ हजार मूल्य बराबरको २४ लाख चार हजार ८० कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । त्यसका लागि सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ । बीमा कम्पनीतर्फ एभरेष्ट इन्स्योरेन्स कम्पनीले पनि एक बराबर एक कित्ता सेयर दिनेगरी स्वीकृतिका लागि बोर्डमा आवेदन दिएको छ ।

सो कम्पनीले रु १४ करोड तीन लाख ३२ हजार ५०० मूल्य बराबरको १४ लाख तीन हजार ३२५ कित्ता हकप्रद सेयर बिक्री गर्ने लक्ष्यसहित सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।जलविद्युत् कम्पनीतर्फ अपि पावर कम्पनीले पनि लामो समयदेखि एक बराबर दुई कित्ता हकप्रद सेयर बिक्री गर्ने तयारी गर्दै आएको छ । सो कम्पनीले रु दुई अर्ब १० करोड मूल्य बराबरको दुई करोड १० लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने गरी सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । तर अपि पावरले हालसम्म कुनै पनि कागजात बोर्डमा भने बुझाएको छैन ।

माइक्रोफाइनान्स समूहको उन्नति माइक्रोफाइनान्स कम्पनीले पाँच बराबर एक कित्ता हकप्रद सेयर बिक्रीको अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ । रु एक करोड १० लाख मूल्य बराबरको एक लाख १० हजार कित्ता हकप्रद सेयर बिक्रीका लागि सिद्धार्थ क्यापिटललाई नै बिक्री प्रबन्धक तोकेको छ ।

यस्तै बोर्डले विभिन्न तीन कम्पनीका रु १६ करोड ९० लाख २५ हजार मूल्य बराबरको १६ लाख ९० हजार २५० कित्ता हकप्रद सेयर बिक्री गर्न स्वीकृति दिएको छ । चालू आर्थिक वर्षको हालसम्म उक्त अनुमति पाउनेमा स्वदेशी लघुवित्त वित्तीय संस्था, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स वित्तीय संस्था रहेका छन् ।

Advertisement

Advertisement

Advertisement