‘एनसेलको बक्यौता एकचुड्कीमा उठाइदिन्थें, तर अर्थले मलाई विश्वासै गरेन र टेलियालाई पत्र पठायो’

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले एनसेलले तिर्न अटेर गर्दै आएको पुँजीगत लाभकर अशुल गर्ने कुरामा अर्थ मन्त्रालयले आफूलाई विश्वास नगरेको खुलासा गरेका छन् ।

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले एनसेलसँग सजिलै बक्यौता अशुल गर्न सकिने संभावना हुँदाहुँदै अर्थ मन्त्रालयले बक्यौता अशुल नगर्ने र एनसेललाई खेल्न मौका दिने उद्देश्यले टेलियासोनेरा (एनसेलको यसअघिको विदेशी लगानीकर्ता कम्पनी)लाई पत्र पठाएको बताए ।

झाले भने– एनसेलको बक्यौता म एकचुट्डकीमै अशुल उपर गरिदिन्थें । किनभने एनसेलको बैंक खाता यहीं छ । नेपालको कानुनअनुसार कर तिर्न अटेर गर्छ भने त बैंक खाता रोक्का गरेरै अशुल गर्न सकिन्थ्यो । टेलिया खोज्दै जाने नै होइन । यहींको कम्पनीबाट अशुल गर्ने हो ।

अर्थ मन्त्रालयले एनसेलको बक्यौता अशुल नहोस् भन्ने उद्देश्यले नै एनसेलबाट बक्यौता अशुल नगरेर टेलियालाई पत्र पठाउने काम गरेको उनको आशय थियो । तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महराले एनसेलसँग बक्यौता अशुल गर्न छोडेर एनसेलबाट हात झिकिसकेको नर्वेजियन कम्पनी टेलियासोनेरालाई पत्र पठाएका थिए ।

एनसेलको हालको मलेसियान लगानीकर्ता एक्जियटाले पुँजीगत लाभकर तिर्नुपर्ने दायित्व आफ्नो नभई टेलियाको तर्क गर्दै आएको छ । साथै महराले अर्थ मन्त्रालयमा टेलियासोनेराका अधिकारीहरुसँग भेटेको तस्विर पनि सार्वजनिक भएको थियो । महरा अहिले सभामुख छन् । झाले विदेशी लगानीकर्ता जुनसुकै भए पनि एनसेलमा लगानी गर्ने कम्पनी (रेनोल्ड होल्डिङ) एउटै भएकाले बक्यौता अशुल गर्न बाहिर गइरहनु जरुरी नरहेको बताउँछन् ।

झाले एनसेलको बक्यौता अशुल गर्ने कुरामा अर्थ मन्त्रालयले एक पटक पनि आफूसँग कुरा नगरेको बताए । उनले एनसेलसँग बक्यौता अशुल गर्न ढिलाई गर्दा उनीहरुले कानुनी बाटो समात्ने मौका पाएको बताए । एनसेलले अदालतलाई पनि प्रभावित पारेर आफ्नो पक्षमा फैसला गर्न लगाएको हो ? भनेर सोध्दा झाले यस विषयमा आफू नबोल्ने बताए ।

चौतर्फी दबाबपछि एनसेलले पुँजीगत लाभकरबापत करिव २३ अर्ब रुपियाँ तिरे पनि ७१ अर्ब रुपियाँभन्दा बढि अझै तिर्न बाँकी छ । ठूला करदाता कार्यालयका प्रमुख धनीराम शर्माले सोझै बक्यौता एनसेलको नभई टेलियाको भएको तर्क गरे ।

उनले अदालतको आदेशअनुसार एनसेलको बैंक खाता फुकुवा भएर उसले नाफा लैगिसकेको र अन्तिम फैसला नभएकाले अहिले नै बक्यौता एनसेलले तिर्ने वा टेलियाले तिर्न भन्न नसकिने बताए । अदालतमा मुद्दा एनसेलले तिर्नुपर्ने र टेलियाले तिर्नुपर्ने दुवै रहेको शर्माले सुनाए ।

Advertisement

Advertisement

Advertisement