सडक पुनर्निर्माणमा विद्युत, नापी र वनसँग सम्बन्धित समस्या आउन नदिने प्रतिवद्धता

Advertisement

काठमाडौं । भूकम्पीय आकस्मिक सहायता आयोजना (ईईएपी)अन्तर्गत बनिरहेका काभ्रे–सिन्धुपाल्चोक तथा धादिङ–गोरखाका सडकमा देखा परेका विद्युत, नापी र वनसँग सम्बन्धित समस्याहरु समाधान गर्ने समझदारी भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

एसियाली विकास बैंकको सहयोगमा पुनर्निर्माण भइरहेका पाँचखाल–मेलम्ची (काभ्रे–सिन्धुपाल्चोक) तथा धादिङ–गोरखा सडकको कार्य अघि बढाउने सन्दर्भमा प्राधिकरणमा आयोजित बैठकमा सम्बन्धित निकायका प्रमुख तथा प्रतिनिधिले आआफ्नो तर्फबाट समस्या आउन नदिने बचन दिएको प्राधिकरणले जनाएको हो ।

नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक हरराज न्यौपानेले पाँचखाल–मेलम्ची सडकका पोलहरु सार्ने ठेक्का लागिसकेकोले काम अघि बढाउने जानकारी दिए । उनले सडक विभागले पोलहरु सार्ने बिन्दुका बारेमा अग्रीम जानकारी दिए काम शीघ्र अघि बढाउन सहज हुने धारणा व्यक्त गर्दै धादिङ–गोरखाका बाँकी रहेका पोल हटाउन पनि मातहत निकायलाई निर्देशन दिने बताए ।

नापी विभागका महानिर्देशक गणेश भट्टले पाँचखाल–मेलम्ची सडकको मालपोत कार्यालयबाट लगत कट्टाको विवरण प्राप्त भएलगत्तै सडक सीमा तथा व्यक्तिको जग्गा छुट्टयाइने जानकारी दिए ।

वन विभागका उपसचिव नवीन गिरीले राष्ट्रिय योजना आयोगबाट पाँचखाल–मेलम्ची सडक राष्ट्रिय प्राथमिकता प्राप्त सडक हो भन्ने व्यहोराको पत्र पाएपछि रुख कटानको काम अघि बढ्ने बताए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अति आवश्यक पुनर्निर्माण कार्यमा सम्बन्धित निकायहरुबीच समन्वय हुन आवश्यक रहेको बताए । यी आयोजनाको अवरोध हटाउनका लागि विशेष ध्यान दिन आग्रह गरे ।

भूकम्पीय आकस्मिक सहायता आयोजनाअन्तर्गत पाँचखाल–मेलम्ची सडकमा विद्युतका पोलहरु हटाउन तथा नापीबाट सडक सीमा तथा व्यक्तिको जग्गा छुट्टयाउन बाँकी रहेको आयोजना निर्देशनालयले जनाएको छ । त्यसैगरी, धादिङ–गोरखा सडकमा पनि बिजुलका सबै हटाइसकिएका छैनन् भने मुआब्जा वितरण कार्यमा पनि सन्तोषजनक प्रगति भएको छैन ।

Advertisement

Advertisement

Advertisement