विद्युत आयोजना क्यू४५ डिजाइनमा बनाउनुपर्ने सरकारी निर्देशनप्रति निजी लगानीकर्ताको विरोध

Advertisement

काठमाडौं । निजी क्षेत्रका उर्जा उत्पादकहरुको संस्था इप्पानले क्यू४० को डिजाइनमा विद्युत आयोजना निर्माण गर्ने व्यवस्थालाई परिवर्तन गरी क्यू४५ डिजाइन बनाउने उर्जा तथा जलस्रोत मन्त्रालयको निर्णयप्रति विरोध जनाएको छ ।

इप्पानले मंगलबार पत्रकार सम्मेलन गरी मन्त्रालयले जारी गरेको नयाँ निर्देशिकाको विरोध गरेको हो । उसका अनुसार जलविद्युत आयोजना क्यू४५ को डिजाइनमा निर्माण गर्दा आयोजनाको प्रतिफल घटेर सिंगो समग्र लगानी र जलविद्युत विकास प्रभावित हुन्छ । मन्त्रालयले गत कात्तिक ७ गते यो निर्देशिका जारी गरेको थियो ।

इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने सरकारले उल्टै निरुत्साहित गर्नेगरी निर्देशिका जारी गर्दा आफूहरु निराश भएको बताए । उनले भने, ‘विद्युत आयोजनाको डिजाइन क्यू४५ बनाउँदा यसले वार्षिकरूपमा विद्युत यत्पादन घट्छ । अर्कोतर्फ डिस्चार्ज डिजाइनको सीमा परिवर्तन गर्दा प्राकृतिक स्रोतको अधिकतम् सदुपयोग पनि हुँदैन ।’

उनले सरकारको नीतिले बिजुली पनि महंगो हुने र जलविद्युतमा निजी लगानी पनि निरुत्साहित हुने बताए । निजी क्षेत्रसँग छलफल नगरी निर्देशिका जारी गरेर सरकारले पेल्ने काम गरेको भन्दै गुरागाईंले जलविद्युत आयोजनाको अधिकतम क्षमतामा अंकुश लगाउने कुरा राम्रो नभएको बताए ।

निजी प्रवद्र्धकहरुका अनुसार सरकारको निर्णयले अझै पनि विद्युतमा आत्मनिर्भर हुने नभई भारतसँग परनिर्भर हुने परिस्थिति निर्माण हुँदै गएको छ । उनीहरुले बर्खाको पानीको अधिकतम उपयोग गर्न नसक्ने गरी आयोजना डिजाइन गर्दा आफूहरुलाई मात्रै नभई देशलाई पनि ठूलो घाटा हुने भन्दै इप्पान उपाध्यक्ष कुमार पाण्डेले निजी क्षेत्रका आयोजनाका लागि पनि कुनै प्रकारको सीमा तोकिन नहुने बताए । उनले निजी क्षेत्रले बनाउने आयोजनाको क्षमता घटाउने भन्दा विद्युत निर्यात गर्नेतर्फ सरकारको ध्यान गएको भए राम्रो हुन्थ्यो भने ।

Advertisement

Advertisement

Advertisement