बजारमा  ‘हेड एन्ड सोल्डर’ र ‘बिएमसी’का नक्कली उत्पादनहरु

Advertisement

काठमाडौं । बहुर्राष्ट्रिय कम्पनीको उत्पादन ‘हेड एन्ड सोल्डर’ र ‘बिएमसी’ मसलाको नक्कली उत्पादन गर्ने कम्पनीका दुई सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रागिरी–१५ नैकापका वासुप्रसाद बिडारी र ज्योति बिडारी छन् । वासु र ज्योति श्रीमान् श्रीमती हुन् । उनीहरूका दुई कामदार पनि पक्राउ परेका छन् ।

उनीहरूले आफ्नै घरको भुइँतला र कम्पाउन्डमा अत्याधुनिक कारखाना खोलेर नक्कली स्याम्पु र मसला उत्पादन गर्दै आएका थिए । ज्योति सोप एन्ड केमिकल्सको नाममा कम्पनी दर्ता गरेर उनीहरूले डेढ वर्षदेखि कारखाना चलाउँदै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । कम्पनी ज्योति बिडारीको नाममा दर्ता छ । प्रहरीका अनुसार उनीहरूले नक्कली स्याम्पु तथा मसला उत्पादनका लागि मात्रै एक करोड रुपैयाँभन्दा धेरै खर्च गरेर कारखाना खोलेका थिए ।

प्रत्येक महिना ६० कार्टुन स्याम्पु र ६० नै कार्टुन मसला उत्पादन
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले कारखानाबाट प्रत्येक महिना ६० कार्टुन स्याम्पु र ६० नै कार्टुन मसला उत्पादन भई बजारमा बिक्री हुने गरेको खुलेको बताए । ‘उनीहरूले डेढ वर्षदेखि यो धन्दा चलाउँदै आएको देखिन्छ । यसका लागि ८० लाखभन्दा धेरै लगानी भएको छ,’ उनले भने । प्रहरीले कारखानामा सिल गरेको छ ।

प्रहरीले स्याम्पु प्याक गरिएका कार्टुन, स्याम्पुका कच्चा पदार्थ, मसला प्याक गरिएका कार्टुन र कच्चा पदार्थ बरामद गरेको छ । प्रहरीका अनुसार स्याम्पु उत्पादन गर्न अत्याधुनिक खालका तीनवटा मेसिन राखिएका छन् । मसला प्रशोधन तथा उत्पादनका लागि पनि यस्तै मेसिन राखिएको छ । बिडारीले प्लास्टिकको पाउचवाला स्याम्पु उत्पादन गर्दै आएका थिए । जुन स्याम्पु भारतीय कम्पनीबाट उत्पादित सक्कलीसँग दुरुस्तै मिल्छ । त्यस्तै, कारखानाबाट उत्पादित मसला पनि भारतीय कम्पनीको मसलासँग हुबहु मिल्छ ।

पक्राउ परेकाविरुद्ध कालाबजारी ऐनअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइने परिसरका प्रवक्ता बोगटीले बताए । ‘उनीहरूले जानाजान ट्रेडमार्क किर्ते गरेको देखिन्छ । सक्कली भनी नक्कली उत्पादन बजारमा बेच्नु ग्राहकलाई ढाँट्नु हो । यसमा कालाबजारी ऐन आकर्षित हुन्छ,’ उनले भने । प्रहरीले यसअघि नेपाली तथा भारतीय चर्चित ब्रान्डका नाममा नक्कली सुर्ती तथा गुट्खा उत्पादन गर्दै आएका भारतीय नागरिक जयानन्दप्रसाद चौरसिया र मुनिलाल चौरसियालाई पक्राउ गरेको थियो ।

उनीहरूले विगत दुई वर्षदेखि तारकेश्वर–५ लोलाङ बोहराटारस्थित राजेन्द्र चापागाईंको जग्गा भाडामा लिई कारखाना नै स्थापना गरेका थिए । प्रहरीले उक्त कारखाना तथा गोदाम सिल गरी दुई करोड २० लाख रुपियाँ मूल्यबराबरको सुर्तीजन्य उत्पादन तथा ५० लाख रुपियाँभन्दा धेरै मूल्यको मेसिन नियन्त्रणमा लिएको थियो । कारखानाका सञ्चालक भारतीय नागरिक बिन्दु चौरसिया र सन्तोष भट्टराई भने अझै फरार छन् ।
आजको नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement