मध्य भोटेकोशीको १ करोड ४४ लाख कित्ता आइपीओ खुला, कहाँ जाने आवेदन दिन ?

Advertisement

काठमाडौं।  मध्य भोटेकोशी जलविद्युत आयोजनाले पहिलो चरणमा कात्तिक २८ गतेदेखि साधारण शेयर निष्काशन गरेको छ  । कर्मचारी सञ्चयकोषका बचतकर्ता, संस्थापक संगठित संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीका लागि पहिलो चरणमा १ करोड ४४ लाख कित्ता शेयर निष्काशन भएको हो ।

पहिलो चरणमा कात्तिक २८ गते बुधबारदेखि मंसिर १४ गतेसम्म कर्मचारी सञ्चय कोषका बचतकर्ताहरुका लागि १ करोड १७ लाख कित्ता शेयर निष्काशन हुनेछ ।उल्लेखित समयमा अरु लगानीकर्ताले शेयर आवेदन गर्न पाउने छैनन् ।

कर्मचारी सञ्चय कोषका बचतकर्तालाई छुट्याइएको १ करोड १७ लाख कित्ता शेयर निष्काशन भएपश्चात मंसिर १८ देखि २६ गतेसम्म संस्थापक संस्थाका कर्मचारी तथा ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि शेयर निष्काशन गरिने बताइएको छ ।

संस्थापक संस्थाका कर्मचारीका लागि ३.५ प्रतिशत अर्थात २१ लाख कित्ता तथा ऋणदाता संस्था कर्मचारी सञ्चयकोषका कर्मचारीका लागि ६ लाख कित्ता शेयर छुट्याइएको छ ।सबै आवेदकहरुले सी आस्वा प्रणालीबाट मात्र आवेदन गर्न पाउनेछन् । सञ्चयकर्ताको परिचयपत्र, कर्मचारीको परिचयपत्र लगायत कागजात अनिवार्य गरिएको छ ।

कर्मचारी सञ्चय कोषका बचतकर्ता र संस्थापक संगठित संस्थाका कर्मचारीले कम्तीमा ५० कित्तादेखि ५ सय कित्तासम्मका लागि आवेदन गर्न पाउनेछन् । त्यसै गरी ऋणदाता कर्मचारी सञ्चयकोषका कर्मचारीले कम्तीमा ५० कित्तादेखि १२ सय कित्तासम्मका लागि शेयर आवेदन गर्न सक्ने छन् ।

जलविद्युत आयोजना र कर्मचारी सञ्चयकोषका बीचमा भएको सम्झौता अनुसार २०६८ मंसिर २२ मा बहाल रहेका र २०७५ असोज २९ गतेसम्म थपिएका सञ्चय कोषका बचतकर्ता, कर्मचारी तथा संस्थापक संस्थाका कर्मचारीले मात्र शेयरमा आवेदन गर्न सक्नेछन् ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ । एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीआईबिएल क्यापिटल लिमिटेड सहबिक्री प्रबन्धक रहेका छन् ।


Advertisement

Advertisement

Advertisement