हस्तकला व्यापार मेला भृकुटीमण्डपमा सुरु, ललितपुर महानगरलाई ‘हस्तकला सिटी’ घोषणा

Advertisement

काठमाडौं । नेपाल हस्तकला महासंघको आयोजनामा भृकुटीमण्डपमा हस्तकला व्यापार मेला तथा हस्तकला प्रतियोगिता सुरु भएको छ । मेलाको यो १६औं संस्करण हो । मेला मंसिर २ गतेसम्म चल्नेछ ।

मेला उद्घाटन गदै अर्थमन्त्री युवराज खतिवडाले स्थानीय कच्चा पदार्थमा आधारित, स्वदेशी शिल्पी तथा सिर्जनामा कुँदिएका हस्तकलाका सामानहरुको यथोचित प्रवद्र्धन हुन सकेमा राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बताए । उनले यसअघिको १४औं हस्तकला प्रतियोगितामा सहभागीहरु मध्येबाट उत्कृष्टलाई नगदसहित सम्मान समेत गरे ।

मेला सञ्चालनको लागि एक करोड खर्च लाग्ने अनुमान गरिएकोमा सरकारले २५ लाख रुपियाँ, नेपाल उद्योग वाणिज्य महासंघले एक लाख रुपियाँ सहयोग गरेको छ । मेलामा १० करोड बराबर कारोबार हुने आयोजक विश्वास छ । उदघाटन कार्यक्रममा ललितपुर महानगरलाई हस्तकला सिटी घोषणा गरियो ।

कार्यक्रममा ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जन, नेपाल चेम्बर्स अफ कमर्सका कार्यवाहक अध्यक्ष राजेन्द्र मल्ल, उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा लगायत सहभागी थिए । मेलामा काष्ठकला, धातुकला, चाँदी तथा अन्य धातुका गरगहना, फेल्टका सामान उनी तथा सुर्ती एवं ढाँकाका सामान, पस्मिना, हाते कागजका सामान, छालाजुत्ता तथा छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु प्रर्दशनी तथा बिक्रीका लागि राखिएको छ ।

करिव ४५ जिल्लाका दुईसयभन्दा बढी स्टलहरु रहेको मेलामा भारत, चीन, पाकिस्तान, श्रीलंका र बंगलादेशका २० वटा स्टलहरु पनि रहेका छन् ।

Advertisement

Advertisement

Advertisement