वायुसेवा निगम वित्तिय संकटमा, श्वेतपत्र जारी गर्दै सरकारसँग सहयोग माग्यो

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज किन्दा लिएको ऋण तिर्न नसक्नेगरी वित्तिय संकटमा पर्न लागेको भन्दै सरकारसँग पूजीगत सहयोगको लागि अनुरोध गरेको छ । निगम व्यवस्थापनले बिहीबार संस्थाको वर्तमान वित्तिय र अन्य अवस्थाको बारेमा श्वेतपत्रनै जारी गरी सरकारलाई सहयोगको लगि अनुरोध गरेको हो ।

नागरिक लगानी कोष र सञ्चय कोषबाट ऋण लिएर दुईवटा वाइडबडी जाहाज किनेको निगमले व्यावसायिक योजना अनुसार उक्त जाहाज संचालनमा ल्याउन नसकेपछि वित्तिय संकटको संघारमा पुगेको हो ।

निगमले नयाँ जहाज ल्याएपछि त्यसलाई उडाउन ७५ करोड ६६ लाख रुपियाँ खर्च भएकोमा दुई वटा जहाजले यो अवधिमा २६ करोड ४८ लाख रुपियाँ मात्रै आम्दानी गरेको जनाएको छ । यसरी यस अवधिमा निगमले वाइडबडी जहाज उडाउँदा ४९ करोड १८ लाख रुपियाँ नोक्सान व्यहोरेको छ ।

निगमले हाल एयरबस ३२० र एयरबस ३३० खरिदको लागि लिएको कर्जाको त्रैमासिक रुपमा १ अर्ब १३ करोड ५२ लाख किस्ता तिर्नु पर्ने जनाएको छ ।

वाइडबडी जहाज उडाउन सुरु गरेपछि निगमको कूल नगद प्रवाह संकुचन हुँदै गएकोले तत्कालै सरकारले पूजीगत सहयोग नगरेमा वित्तिय संकटमा पर्ने जनाएको छ । श्वेतपत्रमा उल्लेख गरिए अनुसार वाइडबडी जहाज उडानपछि निगमको मासिक नगद घाटा ३१ करोड ७७ लाख रपियाँ पुगेको छ ।

श्वेतपत्र जारी गर्दै निगमका कार्यकारी अध्यक्ष मदन खरेलले वाइडबडी जहाजहरु आफ्नो व्यावसायिक योजनाअनुसार लामो दूरीको सेक्टरमा उडान गर्न नसक्दा नोक्सान बढेको बताए । अबको तीन चार महिनाभित्र वाइडबडीलाई पनि योजनाअनुसार उडाइने पनि उनले बताए ।

निगमले कर्मचारी सञ्चय कोषका लागि मात्रै वार्षिक १ अर्ब ४ करोड रुपियाँ ब्याज बुझाउनु पर्ने जनाएको छ। यस्तै नागरिक लगानी कोषलाई वार्षिक २ अर्ब ५१ करोड रुपियाँ ब्याज बुजाउनु पर्ने श्वेतपत्रमा उल्लेख गरिएको छ । दुवै संस्थाबाट लिएको ऋणको वार्षिक १०.५ प्रतिशतका दरले ब्याज बुझाउनु पर्ने श्वेतपत्रमा उल्लेख गरिएको छ ।

दुई वाइडबडी जहाज किनेपछि निगमको कूल दीर्घकालीन कर्जा ३७ अर्ब ५८ करोड रुपियाँ पुगेसँगै ऋणर पूजी अनुपात ३९ दशमलव ८२ पुगेको छ । यो अवस्था वित्तीय हिसाबले उच्च जोखिमपूर्ण भएको निगमले श्वेतपत्रमा उल्लेख गरेको छ ।

हाल निगमको कूल कर्जा ३९ अर्ब ३८ करोड ५६ लाख २४ हजार ४०३ रुपियाँ पुगेको छ । वाइडबडी जहाज ल्याउनुअघि निगमको ऋण १४ अर्ब ४० करोड रुपियाँ थियो।

निगमले आफूसँग रहेका १५ मध्ये ८ वटा जहाजमात्रै सञ्चालनमा रहेको र बाँकी जहाज ग्राउण्डेड अवस्थामा रहेको श्वेतपत्रमा उल्लेख गरिएको छ। निगमले अहिले अन्तर्रािष्ट्रयतर्फ विभिन्न आठ गन्तव्यमा हप्ताको ३९ उडान गर्दै आएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement