सन्दीपले आगामी सिजनको आईपीएल पनि दिल्लीबाटै खेल्ने

Advertisement

काठमाडौं । नेपाली युवा बलर (लेग स्पिनर) सन्दीप लामिछानेले विश्वकै ठूलो र महँगो क्रिकेट लिग (आईपीएल) को सन् २०१९ मा हुने आगामी सिजनमा पनि खेल्ने पक्का भएको छ । उनलाई आगामी सिजनको लागि हुने अक्सन अघिनै पुर्वक्लब दिल्ली डेयरडेभिल्सले ‘रिटेन’ (सुरक्षित) गरेको हो ।

आईपीएलमा खेलाडी अक्सनअघि आफुसँग भएका खेलाडी सुरक्षि गर्ने र छाड्ने अधिकार हुन्छ । सोही प्रक्रियामार्फत दिल्ली डेयरडेभिल्सले सन्दिपलाई रिटेन गरेपछि उनले आगामी सिजनमा पनि आईपीएल खेल्ने भएका हुन् । दिल्लीले सन्दीपसँगै अन्य १४ खेलाडीहरुलाई पनि रिटेन गरेको छ ।

दिल्लीले सन्दीपलाई रिटेन गरेकोमा बिहीबार बिहानै उनलाई जानकारी गराएको थियो । उनलाई दिल्लीले आगामी सिजनका लागि कति मूल्यमा रिटेन गरेको भन्ने खुलाएको छैन । सन्दीप रिटेन भएसँगै लगातार दुई सिजन आईपीएल खेल्ने पहिलो नेपाली बन्नेछन् । सन् २०१८ मा भएको अघिल्लो सिजनमा उनलाई दिल्लीले २० लाख भारतीय रुपियाँमा खरिद गरेको थियो । अघिल्लो आईपीएल खेलेयता सन्दीप विदेशी लिग खेल्नमा व्यस्त छन् ।

सन्दीपसँगै दिल्लीमा रिटेन भएका खेलाडीहरुमा श्रेयस ऐयर, पृथ्वी शाह, ऋषभ पन्त, मन्जोत कार्ल, कोलिन मुन्रो, क्रिस मोरिस, जयन्त यादव, राहुल तेवाटिया, हर्सल पटेल, अमित मिश्रा, काजिसो रबाडा, ट्रेन्ट बोल्ट र अभेस खान रहेका छन् ।

यद्यपि गत सिजनका कप्तान गौतम गम्भीर, जोसन रोय, गुरकिरतमान, ग्लेन म्याक्सवेल, मोहम्मद सामी, डान क्रिस्टियन, विजय शंकर, अभिष्ेक शर्मा सहबाज नदिम, सयन घोस, लियम प्लंकेट, जुनियर दला र नमन ओझालाई भने ‘रिलिज’ (छोडेको) गरेको छ ।

Advertisement

Advertisement

Advertisement