बैंकले सहुलियतपूर्ण कर्जा लिन बोलाए, सजिलै देलान त परम्परागत धितो बिनानैे कर्जा ?

Advertisement

काठमाडौं । नेपाल राष्ट बैंकको निर्देशनपछि बैंक तथा वित्तीय संस्थाले सहुलियतपूर्ण कर्जा लिन आह्वान गरेका छन् । ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्य्विधि २०७५’ ले गरेको व्यवस्थाअनुसार यस्तो आह्वान गरिएको हो ।

सहुलियतपूर्ण कर्जा लिन जाँदा बैंक तथा वित्तीय संस्थाले नदिएको उजुरी आएपछि राष्ट्र बैंकले वाणिज्य, विकास बैंक र फाइनान्स कम्पनीका एसोसिएसनलाई दुई दिनभित्र ऋण दिने सूचना जारी गर्न मंगलबार निर्देशन दिएको थियो। सोही निर्देशन पालना गर्दै उनीहरूले सूचना जारी गरेर सहुलियतपूर्ण कर्जा लिन आह्वान गरेका हुन् ।

कार्य्विधिमा व्यवस्था भएबमोजिम देशमै स्वरोजगार उद्यम गर्न चाहाने निश्चित मापदण्डमा पर्ने युवाहरुलाई सहुलियतपूर्ण कर्जा दिनका लागि बैंकहरुले सुचना जारी गरेका हुन्

राष्ट्र बैंकले कार्य्विधि कार्यान्वयन गर्न दसैंअघि नै निर्देशन दिए पनि बैंक तथा वित्तीय संस्थाले अटेर गर्दै आएका थिए । राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका तीनवटै वित्तीय संस्थाका एसोसिएसनलाई ऋण दिने सूचना जारी गर्न निर्देशन दिएको थियो ।

बैंक तथा वित्तिय संस्थाहरुले सुचना जारी गरे पनि सजिलैसँग परम्परागत धितो विना यस्तो सहुलियतपूर्ण कर्जा दिने कुरामा भने आशंका व्याक्त गरिएको छ । कार्यविध कार्यान्वयनमा आइसकेपछि पनि सुचना जारी गर्न राष्ट्र बैंकले दोहोराएर निर्देशन दिनुपर्ने अवस्थाले यस्तो कर्जा प्रवाहको कार्यान्वयन सहज नभएको संकेत गर्दछ ।

हालसम्म अधिकांश बैंक ताथा वित्तिय संस्थाहरुले परम्परागत धितो विना आयोजनामा आधारीत भएर वा शैक्षिक प्रमाणपत्रको धितोमा कर्जा दिने गरेका छैनन् । जसले गर्दा पनि मापदण्ड पुगेका युवाहरुले पनि यस्तो कर्जा सजिलैसँग पाउलान भन्न सकिने आस्था नभएको विश्लेषहरुको भनाइ छ ।

सरकारले व्यावसायिक कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, विदेशबाट फर्केका युवा परियोजना, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा र भूकम्पपीडितको निजी आवास निर्माणमा सहुलियतपूर्ण कर्जा दिने व्यवस्था गरेको छ ।

सहुलियतपूर्ण कर्जासम्बन्धी कार्य्विधि मन्त्रिपरिषदले भदौ २१ गते स्वीकृत गरेकोमा अर्थ मन्त्रालयले असोज ६ गते सार्वजनिक गरेको थियो । नेपाल राष्ट्र बैंकले यसको कार्यान्वयनको लागि व्यवस्था मिलाउन असोज ११ मा निर्देशन जारी गरेको थियो ।
यस्तो कर्जा लिन चाहने युवाले स्थायी लेखा नम्बर लिएको हुनुपर्छ । साथै कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेकाले मात्र यस्तो कर्जा सुविधा पाउनेछन् ।

कार्यविधि अनुसार स्नातक तहसम्म उत्तीर्ण गरेकाले शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ५ प्रतिशत ब्याज अनुदानमा सात लाखसम्म ऋण पाउनेछन् । शैक्षिक प्रमाणपत्र धितोमा राखे ऋण पाउन ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ । शैक्षिक प्रमाणपत्रको सक्कली प्रति र घरेलु तथा साना उद्योग कार्यालय र समिति, सीप विकास तालिम केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट कम्तीमा ७ दिनको सीप विकास तालिम लिएको वा उक्त कर्जा स्वीकृत भएपछि त्यस्तो संस्थामा तालिम लिएको प्रमाण पेश गर्नुपर्छ ।

व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा १८ वर्ष उमेर पुगेका युवाले पाउनेछन् । १० लाख रुपैयाँसम्म कर्जा लिन सामूहिक जवानी, १० लाखभन्दामाथि कर्जा लिन संस्था र एक करोडभन्दामाथि कर्जा लिन कम्पनी हुनुपर्ने व्यवस्था कार्य्विधिले गरेको छ । १० लाख रुपैयाँभन्दा बढी कर्जा लिन चाहने संस्था वा कम्पनीले कर्जाको विस्तृत परियोजना विवरण पेश गर्नुपर्नेहुन्छ ।

वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजनाका लागि विदेशमा ६ महिना काम गरेको र विदेशबाट फर्केको ३ वर्ष ननाघेको हुनुपर्नेछ ।

Advertisement

Advertisement

Advertisement