‘नेविसंघमा नेताको भजन मण्डलेलाई टीका लगाउनु हुँदैन, महाधिवेशनबाट नेतृत्व छान्न दिनुपर्छ’

Advertisement

काठमाडौं । काँग्रेस नेता अर्जुननरसिंह केसीले आफ्नो पार्टीमा पार्टीको विधानबारे गम्भिर छलफल हुने बताएका छन् । रिपोर्टर्स क्लपमा शुक्रबार उनले मस्यौदा समितिले विधान अहिलेसम्म केन्द्रिय कार्य समितिमा पेश गर्न नसकेको पनि उनले सुनाए ।

केसीले भने, ‘विधानका सम्बन्धमा सबैका आ–आफ्ना धारणाहरु हुन्छन् । तर, हामी अन्तिम निश्कर्षमा पुर्याउँछौं ।’ उनले अब पार्टी नेताप्रधान नभएर नीतिप्रधान हुनुपर्नेमा पनि जोड दिए । ‘पार्टी व्यक्तिप्रधान होईन अब संस्थाप्रधान हुनुपर्छ’ – केसीले भने, ‘अब पार्टीलाई सामूहिक नेतृत्व पद्धतीमा लैजानुपर्छ । मैले त यो कुरा बारम्बार भन्दै आएको छु ।’

तत्कालिन् पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको पालामा १२ औं महासमिति बैठक पनि आफूले सम्पूर्ण पदाधिकारी निर्वाचित हुनुपर्छ भनेर एक्लो अडान लिएको स्मरण गराउँदै उनले अहिले पनि पदाधिकारी निर्वाचित हुनुपर्ने धारणा राखे । केसीले भने, ‘टिकट वितरण समिति, अनुशासन समिति र निर्वाचन समिति सबै महाधिवेशनबाट निर्वाचित हुनुपर्छ । १५ प्रतिशतभन्दा बढि मनोनित गर्ने प्रथाको अन्त्य गर्नुपर्छ ।’ केसीले अब पार्टीमा एक व्यक्ति एक पदमात्रै हुनुपर्ने धारणा राखे ।

नेतालाई मनपर्यो भनेर एकै व्यक्तिलाई चार–चार पटक सांसदको लागि समानुपातिकमा सिफारिश गर्न नहुने पनि केसीको भनाई छ । उनले भने, ‘समानुपातिकको सिट आरक्षण गरिनुपर्छ ।’ संविधानमै राजनीतिक दलसम्बन्धी धारा २७४ मा प्रत्येक पार्टीले संघीय र प्रादेशिक पदमा निर्वाचित हुनुपर्ने व्यवस्था गरेकोले सोही अनुसार चल्नुपर्ने उनको सुझाव छ । केसीले भने,‘पदाधिकारी मनोनित गर्ने विषयमा कुनै सम्झौता हुँदैन् ।’

पार्टीको केन्द्रिय कार्यसमिति बैठक भोलि शनिबार बोलाइएको भएपनि बैठकका एजेण्डाहरु अहिलेसम्म थाहा नभएको केसीले जनाए । उनले भने, ‘भोलि बैठक छ । तर, अहिलेसम्म एजेण्डा थाहा छैन् । हुन त मंसिर २ गते नेविसंघ वर्तमान कार्यसमितिको पदावधि सकिँदैछ ।’

केसीले नेविसंघको अधिवेशन गर्नुपर्नेमा जोड दिए । उनले टिके प्रथाबाट मनोनित गर्ने कुराको आफू विरोधी भएको पनि जनाए । केसीले भने, ‘टिके प्रथाको म हिजो पनि विरोधी थिएँ । आज पनि विरोधी नै हुँ । र, भोलि पनि विरोध गर्छु ।’

नेविसंघमा तदर्थ समिति बनाउने कुरा विकल्प हुनै नसक्ने केसीको जिकिर छ । उनले भने, ‘यसको एकमात्र विकल्प भनेको अधिवेशन गर्नुपर्छ । नेताको भजन मण्डलेलाई नेविसंको नेतृत्व सुम्पिनुहुँदैन् । नेविसंघलाई अब पंग्गु र व्यक्तिमुखी नबनाऔं ।’
पार्टीको महासमिति बैठक मंसिर २८ गतेलाई डाकिएकोले अब त्यही मितिमा बैठक बस्नेमा आफू विश्वस्त रहेको केसीको भनाई छ । पार्टीको विधानअनुसार प्रत्येक भातृ संगठनको विधान उनीहरु आफैले बनाउने भएकोले नेविसंघमा उमेर हद पार्टीले तोक्ने कुरा आफैमा विधानभन्दा सर्वथा उल्टो रहेको उनको भनाई छ । यद्यपी केसीले नेविसंघको उमेर हदको विषयमा पार्टीले निर्णय नगरेको जिकिर गरे । उनले थपे, ‘यो विषय छलफलको विषय हो । अहिले उमेर हद लगाउने निर्णय भएको छैन् ।’

नेता केसीले नेविसंघ, तरुण दललगायत भातृ संगठन र पार्टीमा पनि उमेर हद लगाउने हो भने आफू तयार रहेको सुनाए । उनले भने, ‘म तयार छु । सरंक्षक बन्न तयार छु । तर, नेताको क्रियाशिलता हेर्नुपर्छ । भीजन हेर्नुपर्छ । सिर्जनात्मक शक्ति हेर्नुपर्छ ।’

विजयकुमार गच्छदारलाई उपसभापति बनाउने कुरामा आफ्नो पूर्ण सहमति भएको भएपनि तर प्रक्रियागत आफ्नो असन्तुष्टि रहेको सुनाए । उनले भने, ‘विधानलाई सोझै मिचेर सभापतिले स्वेच्छचारी देखाउनुभयो । लोकतान्त्रिक पद्धतिप्रति यो कदम हाँस्यस्पद छ । शासन व्यक्तिले होईन, विधिले गर्नुपर्छ ।’

Advertisement

Advertisement

Advertisement