शेरधन राईको गुनासो– म निजी खर्चमा थाइल्याण्ड र अमेरिका जाँदा मिडियाले गलत प्रचार गरे

Advertisement

विराटनगर । केन्द्रीय सरकारको अनुमतिविना थाइल्याण्ड र अमेरिका घुमेर आएका प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो भ्रमणबारे मिडियाले भ्रमपूर्ण प्रचार गरेको आरोप लगाएका छन् ।

उपचार गर्न भन्दै थाइल्याण्ड पुगेका राईको स्वास्थ्य परीक्षण गर्दा स्वास्थ्य सामान्य देखिएको थियो । त्यसपछि उनी अमेरिका हानिएका थिए । अमेरिका विवादास्पद संस्थाहरुबाट स्वागत र सम्मान लिएका राईको समाचार मिडियामा आएपछि उक्त समाचार लेख्ने पत्रकार लोकमणि राईलाई उनका सहयोगीले कुटपिट गरेका थिए ।

मुख्यमन्त्री राईद्धारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ– मेरो अमेरिका भ्रमणलाई केही पत्रपत्रिका एवं मिडियाले विवाद सिर्जना गरी आफ्ना सहयोगी पारुहाङ राईको नाम जोडर कपोककल्पित भ्रमपूर्ण प्रचारबाजी गरेकामा त्यसको खण्डन गर्दछु ।

उनले प्रदेश सरकारको मन्त्रिपरिषद्को कात्तिक ११ गतेको बैठकको निर्णयअनुसार आफू निजी खर्चमा उपचारका लागि कात्तिक १६ गते थाइल्याण्डको राजधानी बंैकक गएको र बैंकक उपचारका क्रममा स्वास्थ्य जाँचको अन्तिम रिपोर्ट कात्तिक २६ गते आउने भएको हुनाले निजी एवम् पारिवारिक भेटघाटका लागि अमेरिका गएको, त्यस क्रममा अमेरिका न्यूयोर्कस्थित प्रवासी नेपाली मञ्च र आदिवासी जनजाति महासङ्घको संयुक्त आयोजनामा एक भेलामा सहभागी भई बाल्टिमोर, वाशिङटन डिसी, वफेल्लोलगायत केही ठाउँको भ्रमण गरेको बताएका छन् ।

मुख्यमन्त्री राईले उपचारका क्रममा विदेश जानका लागि कूटनीतिक राहदानी (रातो पासपोर्ट) प्रयोग नगरेको र विदेश जाने सम्बन्धमा सङ्घीय सरकारलाई समेत जानकारी गराएको जिकिर गरेका छन् । उपचारको क्रममा छ महीनाको औषधि सेवनपछि आगामी २०७६ वैशाख ६ गते स्वास्थ्य जाँचका लागि पुनः बैंकक जानुपर्ने उनले बताएका छन् ।

Advertisement

Advertisement

Advertisement