इन्जिनियर्स एशोसियशनको निर्वाचनः देउवा समूह पछि हटेपछि लोकतान्त्रिकको पनि एउटै प्यानल

Advertisement

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसियशनको नजिकिँदो निर्वाचनका लागि काँग्रेसनिकट लोकतान्त्रिक समूहबाट तीन वटा समूहले उम्मेदवारी दिएकोमा शेरबहादुर देउवा समूहका दुई समूहले उम्मेदवारी फिर्ता लिएको छ ।

उम्मेदवारी फिर्ता लिने अन्तिम मिति हिजो आइतबार देउवा समूहबाट उम्मेदवारी दिएका नेपाल इन्जिनियर्स एशोसियशनका पूर्वअध्यक्षद्धय दिलिप झा र शालिकराम सिंह नेतृत्वको दुई वटा समूहले उम्मेदवारी फिर्ता लिएको हो । अब लोकतान्त्रिक समूहबाट काठमाडौं इन्जिनियरिङ कलेजका अध्यक्ष हिरेन्द्रमान प्रधान नेतृत्वको एउटै समूह वामपन्थी समूहबाट उम्मेदवारी दिएका इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्राडा त्रिरत्न बज्राचार्य नेतृत्वको समूहसँग प्रतिस्पर्धा गर्नेछ । प्रधान पौडेल पक्षका हुन् ।

देउवा पक्षले पौडेल पक्षसँग कुनै सहमति नभइकनै आफूहरुका दुई वटै प्यानलले उम्मेदवारी फिर्ता लिएको जनाएको छभने पौडेल पक्षले छलफल र सहमतिमै देउवा पक्षका दुवै प्यानलहरुले उम्मेदवारी फिर्ता लिएको जनाएको छ । लोकतान्त्रिक समूहमा विवाद कायम रहेपछि यसको समाधानका लागि काँग्रेसले नेता विमलेन्द्र निधिलाई विवाद समाधान गर्न तोकेको थियो ।

काँग्रेसनिकट इन्जिनियरहरुको संगठन सेन्टर फर डेमोक्राटिक इन्जिनियर्स नेपाल (सेडान)मा पौडेल पक्षको नेतृत्व रहेको छ । इन्जिनियर्स एशोसियशनकै विषयलाई लिएर देउवा पक्ष र पौडेल पक्षबीच लामो समयदेखि विवाद चल्दै आएको थियो । सोही विषयमा देउवा पक्षले सेडानको कार्यालयमा तालाबन्दी पनि गरेको थियो । पौडेल पक्षका कमजोरीका कारण प्रदेशतर्फका एशोसियशनका केही पदहरु गुम्ने अवस्था आएको देउवा पक्षको आरोप छ ।

मंसिर २८ गते हुने एशोसियशनको निर्वाचनका लागि मुलुकभरका २० हजारभन्दा बढि इन्जिनियरहरु सहभागी हुँदैछन् । इन्जिनियरिङ क्षेत्रमा लोकतन्त्र पक्षधरहरु बढि रहे पनि विगतमा यो पक्षमा दुई वटा प्यानलहरु लड्दा वामपन्थी समूहले दुई पटक चुनाव जितेको थियो । यद्यपि वरिष्ठ इन्जिनियर त्रिरत्न बज्राचार्यको उम्मेदवारी रहेको र दुई वटा पार्टी एक भएको अवस्थाले गर्दा लोकतान्त्रिक समूह एउटै हुँदा पनि आफूहरुले चुनाव जित्ने दावी गरेको छ ।

Advertisement

Advertisement

Advertisement