जहाज आउँदा एयरपोर्टमा स्वागत गर्ने पर्यटनमन्त्री अहिले भन्छन्- भाडा हो वा खरिद ? मलाई थाहा छैन्

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आउँदा स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका पर्यटनमन्त्री रविन्द्र अधिकारी जहाज खरिदमा अनियमितता देखिएपछि यसबाट जोगिने प्रयासमा लागेका छन् ।

एक टेलिभिजन (एपी१) कार्यक्रममा दिएको अन्तरवार्तामा उनले आफूसँग जहाज खरिदको कागजाज नरहेको र जहाज भाडामा हो वा खरिद गरिएको आफूलाई जानकारी नभएको बताए । अधिकारीले भने– मसँग कागज छैन, भाडामा त नहुनु पर्ने हो । उनले आफूसँग जहाज खरिदको ठोस प्रमाण नरहेको भन्दै अन्योलता व्यक्त गरे ।

निगमले ऋण लिएर खरिद गरेको बाइडबडी जहाजले बजार राम्रो नपाउँदा निगम वित्तीय संकटमा परेको छ । निगमले केही दिनअघि जहाज खरिदको ऋण तिर्न भन्दै सरकारसँग पुँजी लगानीको माग गरेको थियो ।

विभागीय मन्त्रीले आफू मातहतका निकायहरुले गरेका कामकारवाहीको सोधखोज गरी जानकारी राख्ने, गल्ती गर्नेलाई कारवाही गर्ने अधिकार र दायित्व हुन्छ । उल्टै मन्त्री अधिकारीले जहाज खरिदको नेतृत्वकर्ता निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई कायम राख्दै कार्यकारी अध्यक्षमा प्रधानमन्त्रीको गृह जिल्लाका मदन खरेललाई नियुक्ति गरेका थिए ।

जहाज खरिदमा देखिएको अनियमितता ओझेलमा पार्न उनले खरेललाई नियुक्ती गरे पनि यस प्रकरणले जटिल रुप लिन थालेपछि आफू पन्छिने प्रयासमा लागेको देखिएको छ । टेलिभिजन अन्तरवार्तामा जहाज खरिदमा देखिएको समस्याबारे गम्भीरतापूर्वक छानबिन गराई साढे दुई महिनाभित्र निचोड निकाल्ने
बताए ।

जहाज खरिदका लागि सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले ऋण दिएको जनाइएको छ । जहाज खरिदका लागि अर्थ मन्त्रालयले पनि स्वीकृति दिएको छ । यसअघि सोही जहाज निर्मातासँग जहाज खरिद गरिएको भनिए पनि अहिले जहाज भाडामा दिने एक एजेन्ट कम्पनीसँग जहाज खरिद गरेको पाइएपछि जहाज खरिद प्रकरण जटिल बनेको हो ।

मन्त्री अधिकारीले जहाज खरिद भनेर भाडामा ल्याएको रहेछ भने निर्णयमा संलग्न सबैलाई क्षतिपूर्ति भराएर कारवाही गरिने बताए । उनले आफू मन्त्री हुँदा जहाज खरिदको प्रक्रिया सबै सकिएको भन्दै यसको निर्णयमा आफ्नो कुनै संलग्न नरहेको बताए । मन्त्रीको हैसियतमा नयाँ जहाजको स्वागत गर्न पुगेका र झण्डै १४ अर्ब रुपियाँ भुक्तानी गराएका मन्त्री अधिकारीले भने ‘म आउँदा सबै प्रक्रिया सिद्धिएका थिए । यो वाइड बडी खरिद प्रक्रियामा अहिलेको मन्त्री म कुनै ठाउँमा सम्लग्न छैन। भएको पाइए जस्तो सुकै सजाय भोग्न तयार छु।’

Advertisement

Advertisement

Advertisement