कमला नदी वेसिनको उपयोगका लागि चार नगरपालिकाले साझेदारी गर्ने

Advertisement

काठमाडौं । कमला नदी वेसिनबाट प्रभावित चार नगरपालिकाले यसको उपयोग र व्यवस्थापनका लागि संयुक्त रुपमा साझेदारी गरी योजना बनाउने बताएका छन् ।

जल तथा ऊर्जा आयोगको सचिवालयको लागि अष्ट्रेलियन सरकारको द कमन वेल्थ साइन्टिफिक एण्ड इडष्ट्रिज रिचर्ज अर्गनाइजेशन (सीएसआईआरओ)को सहयोगमा जलस्रोत विकास संस्था र पीइआईले सोमबार सिरहाको लाहानमा आयोजना गरेको कमला नदी वेसिनको विकास रणनीति निर्माणबारेको स्थानीय सरोकारवालाहरुसँगको कार्यशालामा यस्तो साझेदारीको योजनाको कुरा उठाएका हुन् ।

सिरहा नगरपालिका प्रमुख अशेश्वर यादव, मिर्चैया नगरपालिका प्रमुख श्रवणकुमार यादव, कल्याणपूर नगरपालिकाका प्रमुख सूर्यनाथ मण्डल र करजना नगरपालिकाका उपप्रमुख ज्ञानु श्रेष्ठले कमला वेसिनको नदीको पानी बाँडफाँड, उपयोग र व्यवस्थापनका लागि साझा योजना बनाउनुपर्ने बताए ।

नदीको कारण बाढी, भुक्षय लगायतका समस्या समाधानसँगै खानेपानी, सिञ्चाई, जलविद्युत, उद्योग, कृषि, पशुपालन लगायतका पानीको बहुउपयोगका लागि बजेटको साझेदारीसहित एकीकृत योजना निर्माण र प्राथमिकीकरणका लागि सहकार्य गर्नुपर्नेमा उनीहरुको जोड थियो ।

मेयरहरुले योजना निर्माणका लागि सरकार र अनुभव प्राप्त संस्थाहरुको सल्लाह र समन्वय आवश्यक रहेको बताउँदै यसको कार्यान्वयनका लागि सबै नगरपालिकाले संघ र प्रदेश सरकारसँगको समन्वयमा कार्यक्रम अघि बढाउने बताए ।

कार्यशालामा सरकारका पूर्व सचिव एवं जलस्रोत विकास संस्थाका उपाध्यक्ष सोमनाथ पौडेलले सिरहा, धनुषा, उदयपुर र सिन्धुली जिल्लाका प्रभावित स्थानीय तहको प्रत्यक्ष सहभागितामा नदी वेसिनको एकीकृत रणनीति निर्माण गर्न लागेको जानकारी दिए । ऊर्जा मन्त्रालयका पूर्व सह–सचिव केशवध्वज अधिकारीले देशभरिका नदी वेसिनको योजना निर्माणको क्रममा नमूना रुपमा कमला वेसिनको विकास रणनीति निर्माण भइरहेको जानकारी दिए ।

जल तथा ऊर्जा आयोगका सिनियर डिभिजनल इन्जिनियर महेश्वर श्रेष्ठले सरकारले नदी वेसिनको योजना, नीति र रणनीति निर्माण गर्न लागेको जानकारी दिँदै निर्माण हुन लागेको एकीकृत जलस्रोत नीतिका लागि कमला वेसिनको अध्ययनको निष्कर्ष सहयोगी हुने बताए ।

अध्ययन सिञ्चाई, खानेपानी र जलविद्युतको प्राथमिकीकरणका लागि सहयोगी हुने उनको भनाई थियो । वन तथा भूसंरक्षण विभाग सहायक भूसरक्षण अधिकृत पासाङ तामाङले कोशी वृहत जलाधार अन्तर्गत कमला वेसिनको जलाधार संरक्षणका लागि सिरहामा जलाधार व्यवस्थापन कार्यालय स्थापना भैसकेको र यस क्षेत्रमा तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण गरिने बताए ।

कार्यक्रममा प्रभावित समुदाय, स्थानीय तह तथा राष्ट्रिय तहमा सरोकारवाला, नीतिनिर्माता लगायतसँग छलफल गरी एकीकृत रणनीतिका मुख्य लक्ष्यहरुमा रुपमा जल उत्पन्न प्रकोप जोखिम न्यूनीकरण तथा जीवीकोपार्जनमा टेवा पुर्याउनका लागि चुरे तथा यसका प्राकृतिक स्रोतहरुको दिगो व्यवस्थापन, जीपीकोपार्जन, जीवनस्तर तथा आर्थिक वृद्धिका लागि जल उत्पन्न प्रकोपको न्यूनीकरण, जलस्रोत उपलब्धता प्रयोग र बाँडफाँडमा सुधार तथा स्थानीय आर्थिक समृद्धि र जीपीकोपार्जन सुरक्षाका लागि व्यवसायिक तथा वैज्ञानिक कृषि प्रणालीको विकास लगायतको प्रस्ताव गरिएकाृे थियो । यी मुख्य लक्ष्यबारे स्थानीय सरोकारवाला तथा स्थानीय तहसँग छलफल कार्यशालामा गरिएको थियो ।

कमला बेसिन विकास रणनीति तयार गर्ने उद्देश्यले २०७४ सालको कार्तिक अन्तिम साता अर्थात १४ नोभेम्बर २०१७ देखि सुरु भएको यो रणनीति विकास योजना तर्जुमा २०७६ को जेठ मसान्त अर्थात १४ जुन २०१९ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कमला बेसिनको जलस्रोत योजना तथा व्यवस्थापनलाई सुधार र सुरक्षित बनाई बेसिनका प्रभावित जनसंख्याको जीवन र जीपिकोपार्जनमा सहयोग गर्ने उद्देश्यसहित सुरु भएको रणनीति योजना निर्माण अन्तर्गत यस क्षेत्रमा लामो समयदेखि चलिरहेको चुरे जंगलको फडानी र निकासीका साथै वालुवा र ढुंगाको अनियन्त्रित निकासी लगायतका कारणले भएको विनास रोक्नका लागि थप सहयोग गर्ने विश्वास लिइएको छ ।

Advertisement

Advertisement

Advertisement