राजधानी नसार्न हेटौंडाका युवा नेताहरुको आग्रह, सारिए काठमाडौं चयनले सुत्न नपाउने चेतावनी

Advertisement

हेटौंडा । प्रदेश नं. ३ को राजधानी हेटौंडाबाट अन्यत्र नसार्न यहाँका युवा नेताहरुले चेतावनी दिएका छन् । राजधानीको विषयले प्रदेश संसद प्रभावित भइरहेको बेला मकवानपुरमा क्रियाशील विभिन्न राजनीतिक दलसम्वद्ध युवा नेताहरुले राजधानी अन्यत्र सारिए नाकाबन्दी गर्ने चेतावनी दिएका हुन् ।

सोमबार मिडिया नेपाल मकवानपुरले आयोजना गरेको अन्तरक्रियामा यहाँ क्रियाशील राजनीतिक दलसम्बद्ध युवा संगठनका नेताहरुले राजधानी हेटौंडाबाट अन्यत्र सार्ने कुरा नसोच्न आग्रह गर्दै सारिए देशले ठूलो दुर्घटना खेप्नुपर्ने बताए ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौँलागाईंले प्रदेश ३ को राजधानी लागि हेटौंडा उपयुक्त रहेको भन्दै अन्यत्र पनि यो भन्दा राम्रो ठाउँ छ भने राजधानीका विषयमा खुला बहस गर्न आफूहरु तयार रहेको बताए ।

उनले भने, ‘यदि हेटौंडाको भन्दा राम्रो पूर्वाधार भएको ठाउँ छ भने हामी खुल्ला छलफलका लागि तयार छौं । तर दुई चार नेताको स्वार्थका लागि राज्यले करोडौं रुपियाँ खर्च गरिसकेको ठाउँ छाडेर फेरि खर्च गराउने कुरा मान्य छैन ।’

उनले हेटौंडाबाट रसुवा जोडने सडक पनि निर्माणका लागि प्रदेश सरकारले तयारी गरेकाले त्यो जिल्ला अपायक नहुने भन्दै चारैतिरबाट राष्ट्रिय राजमार्गले घेरेकोले राजधानीका लागि हेटौंडा नै ठिक रहेको बताए ।

काँग्रेसनिकट दरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले प्रदेश ३ को राजधानी हेटौँडा नै उपयुक्त रहेको बताउँदै यहाँबाट अन्यत्र सारिए नाकाबन्दी गर्ने चेतावनी दिए । उनले आफ्नो माउ पार्टी र मकवानपुरका राजनीतिक दलहरु राजधानी सार्न दिने पक्षमा नरहेको भन्दै बलजफती सार्ने प्रयासले ठूलो दुर्घटना हुने र राजनीतिले अर्कौ मोड लिनसक्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीसम्बद्ध युवक संगठन हेटौंडा नगर अध्यक्ष भृगु कार्कीले प्रदेश ३ को राजधानी हेटौंडामा नै स्थापित भइसकेकोले फेरि यसलाई सार्ने कुरामा बहस जरुरी नरहेको बताए । उनले राजधानी सार्ने कुरा अस्थिरता अस्थिरता सिर्जना गर्ने र द्धन्द्ध बढाउने कुरा हो भन्दै यस विषयमा धेरै विवाद गर्न नहुने बताए ।

नयाँ शक्ति पार्टी युवा नेता सुदिप कार्कीले केही सांसदहरुको स्वार्थमा राजधानी सार्ने कुरा आएको भन्दै यो कुरा मान्य नहुने बताए । उनले केही मान्छेको स्वार्थका लागि राजधानी यता र उता सार्ने काम भए काठमाडौंले चयनले सुत्न नपाउने चेतावनी दिए ।

Advertisement

Advertisement

Advertisement