हामीहरुले राज्यको शासन गर्ने तरिका नै बदल्ने गरी काम गरिरहेका छौंः पुन

Advertisement

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले आफूहरुले राज्यको शासन गर्ने तरिका नै बदल्ने गरी काम गरिरहेको दावी गरेका छन् । स्क्यापको २८ औं वार्षिकोत्सवमा मंगलवार उनले बिगतका सरकारहरुले विकासको जग बसाल्न नसकेको पनि आरोप लगाए ।

मन्त्री पुनले विगतमा सरकार अस्थिर हुँदा विकास निर्माणमा असर परेको भन्दै वर्तमान सरकारको सम्पूर्ण ध्यान देशको विकास र समृद्धिका लागी जाने बताए । उनले वर्तमान सरकार पाँच वर्षका लागि चुनिएको र यो सरकारले गरेका कामको परिणाम छिट्टै निस्कने दावी गरे ।

पुनले भने, ‘म कसैलाई पनि व्यक्तिगत रुपमा आरोपित गर्न चाहन्न । तर, हामी सबैले विगतजस्तो अस्थिर सरकार हो, काम नगरे पनि हुन्छ भन्ने नसोचांै, यो सरकार स्थायी सरकार हो । हामीले मुलुकका लागि आ–आफ्नो ठाउँबाट योगदान दिनैपर्छ ।’ धेरैले अरुलाई आरोपित मात्र गर्ने तर, आफूलाई प्राप्त जिम्मेवारी पुरा नगर्ने प्रवृतिले समस्या उत्पन्न भएको उनले बताए ।

सरकारको मुख्य प्राथमिकता विकास र समृद्धि भएको पुनले दोहोर्याए । उनले प्रधानमन्त्री केपी ओलीले दिर्घकालिन योजना बनाएर काम गरिरहेको भन्दै त्यसलाई सफल पार्न सबैको सहयोगको आवश्यकता रहेको बताए ।

पुनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले दिर्घकालिन योजना बनाएर काम गरिरहनुभएको छ । अहिले नै सरकारले काम गरेन भन्ने कुरा सही होईन । हामीले यो बीचमा थुप्रै प्रशासनिक र कानुन बनाउने काम गरेका छौ । छिट्टै देखिने गरी अरु काम हुन्छ ।’
मन्त्री पुनले उर्जामन्त्रालयले जलविद्युत र सिंचाई क्षेत्रका ठूला आयोजनाहरु अघि बढाउने तयारी गरिरहेको भन्दै त्यसबाट देश विकासमा योगदान पुग्ने बताए । उनले देश विकासको चालक शक्ति उर्जा र सिंचाई भएको भन्दै त्यसमा आफूले परिणाम दिने गरी काम गरिरहेको दावी गरे ।

मन्त्री पुनले आठ मेगावाटको दुधकोशी जलविद्युत आयोजना अघि बढाउने तयारी भएको बताए । त्यसबाट उत्पादन हुने विजुली भारत र वङगलादेशलाई बेच्ने उनले सुनाए ।

Advertisement

Advertisement

Advertisement