ह्याकर सम्मेलन ‘थ्रेट कोन’ आयोजना हुँदै, लाइभ ह्याकिङ मुख्य आकर्षण

Advertisement

काठमाडौं । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय साइबर सुरक्षा सम्मेलन ‘थ्रेट कोन’ आयोजना हुने भएको छ । यही मंसिर ६ र ७ गते काठमाडौंमा हुन गइरहेको सम्मेलन विश्वकै प्रसिद्ध ब्ल्याकट ह्याट र डीइएफ कोनको नेपालको समकालिन सम्मेलन हो ।

सम्मेलन सूचना प्रविधिसँग सम्बन्धित व्यावसायिक संस्था एसआइसीटी नेपाल र साइबर सुरक्षामा काम गर्दै आएको थ्रेट निक्सले आयोजना गरेको हो । सम्मेलनमा क्यान महासङ्घ, इन्टरनेट सोसाइटी नेपाल च्याप्टर, एनपिक्स लगायतका संस्थाको पनि सहकार्य रहेको छ ।

पछिल्लो समय व्यक्तिगत तथा पब्लिक डोमेन, ठूला किसिमका फाइनान्सियल अट्याक जस्ता साइबर सुरक्षाका चुनौती नेपालले भोग्दै आएको छ । साइबर हमलाका तरिका आधुनिक र व्यवस्थित बन्दै गइरहेपनि नेपालले सुरक्षाको लागि त्यस किसिमको तयारी गर्न सकेको छैन ।

यसका लागि साइबर सुरक्षाको विकास र दक्ष व्यावसायिक जनशक्ति आवश्यक पर्छ । साइबर सुरक्षाको परम्परागत मान्यतालाई विस्थापित गर्दै यसमा व्यापक परिवर्तनको उद्देश्यसहित थ्रेट कोन आयोजना गरिएको आयोजकले बताएका छन् । सम्मेलनमा नेपालले अभ्यास गर्दै आइरहेको साइबर सुरक्षाको अवस्था र त्यसलाई सुधार गर्न सक्ने विषयमा छलफल हुने बताइएको छ ।

सम्मेलनमा साइबर सुरक्षामा विश्वव्यापी रुपमै चर्चित अभ्यासकर्ता, निर्माताको सहभागिता रहनेछ । सरकारी निकायलाई साईबर सुरक्षाको बारेमा जानकारी लिन यो उपयोगी साबित हुने आयोजको भनाइ छ । नेपालको साइबर सुरक्षामा क्रियाशिल व्यक्ति तथा संस्थाको विकास नै यो सम्मेलनको मुख्य उद्देश्य रहेको बताइएको छ ।

सम्मेलनको आकर्षणको रुपमा लाइभ ह्याकिङ समेत रहनेछ । अमेरिका, रुस, रोमानिया, भारत, जर्मनी, युएई लगायतका देशबाट विज्ञहरुको सहभागिता रहने छ ।

Advertisement

Advertisement

Advertisement