निजी क्षेत्रको गुनासो- अन्य मुलुकको भन्दा कर पनि नेपालको बढि , झन्झट पनि नेपालमा बढि

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको सचिवालयमा ‘कर परामर्श केन्द्र’ स्थापना गरिएको छ । साताव्यापीरुपमा सातौं राष्ट्रिय कर दिवस मनाइरहेको बेला राजश्व सचिव शिशिरकुमार ढुँगाना र महासंघकी अध्यक्ष भवानी राणाले मंगलबार यस केन्द्रको स्थापना गरेका हुन् ।

मंसिर १ गतेबाट सुरु भएको कर सप्ताह ‘करः समृद्ध नेपाल, सुखी नेपालीको भर’ नाराका साथ विभिन्न कार्यक्रमहरु गरी मनाइँदै छ । केन्द्रबाट देशका सबै ठाउ“बाट आएका कर राजस्वसम्बन्धी गुनासाहरूलाई संकलन गरी प्रत्येक हप्ताको शुक्रवार गुनासा उपर छानवीन गर्ने, निप्टारा लगाउने र तत्काल निप्टारा लगाउन नसकिने गुनासाहरूलाई माथिल्लो निर्णय गर्ने निकाय समक्ष पुर्याउने काम गरिने छ ।

केन्द्रबाट राजस्व प्रशासनलाई बढी व्यवहारिक, प्रभावकारी र जनमैत्री बनाउने सरकारको अभियानमा सहयोग पुग्ने भन्दै महासंघले आफूलाई परेका समस्या गुनासाहरू सोही केन्द्रमार्फत समाधानका लागि मद्दत लिन आग्रह गरेको छ ।

महासंघकी अध्यक्ष राणाले सरकारको कर प्रशासन सधै व्यवसायमैत्री हुनुपर्ने र कर तिर्ने वातावरण निर्माणमा सदैव चनाखो हुनुपर्ने बताइन् । उनले मुलुकको अर्थतन्त्र अपेक्षाकृत सुधार हुन नसकेको भन्दै सरकारले औद्योगिक विकास, आर्थिक विकासका लागि आवश्यक अध्ययन अनुसन्धानमा बढी भन्दा बढी लगानी गर्नुपर्ने सुझाव दिइन् ।

राजस्व सचिव ढुंगानाले सरकार निजी क्षेत्रको साझा चासो भनेकै मुलुकको विकास र जनताको समृद्धि रहेकाले निजी क्षेत्रलाई सदैव साथ लिएर कार्य गर्ने बताए । उनले निर्यातमुलक उद्योगलाई बढावा दिई आयात प्रतिस्थापन गर्नु सरकारको मुख्य लक्ष्य भएकाले यो चुनौतीपूर्ण कार्यमा निजी क्षेत्रको साथ विना सम्भन नहुने बताए ।

ढुँगानाले दोहोरो करका विषयमा हालै गठित एक अधिकार सम्पन्न समितिले मन्त्रिपरिषद् समक्ष सुझाव पेश गरी सकेकाले यस विषयमा छिट्टै निर्णय आउने समेत स्पष्ट पारे । उनले अर्थमन्त्रालय करको दायरा बढाउने कार्यमा तीव्रताका साथ लागि परेको पनि बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालको निजी क्षेत्र दक्षिण एशियामै बढी कर तिर्नेमा देखिएको भन्दै तर सरकारले उद्योग व्यवसायको विकास र विस्तार नभएको तर्फ पनि सचेत भई के कारणले उद्योग व्यवसाय विस्तार हुन सकिरहेको छैन ? लगानी आइरहेको छैन ? त्यसको सुक्ष्म अध्ययन गरी सोही अनुसार सुधार गर्न आग्रह गरे ।

Advertisement

Advertisement

Advertisement