११औं विदेश भ्रमण गर्दै चिरिबाबुले बनाए रेकर्ड

Advertisement

ललितपुर । विदेश भ्रमणलाई अक्सर वृत्ति विकासँग जोडिएर लिने गरिन्छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको अहिलेसम्मको विदेश भ्रमणले उनको व्यक्तित्व विकासमा के कस्तो प्रभाव पारेको छ, कुन्नि ? तर महानगरपालिकाकोे कार्यसम्पादनले भने नगरबासीमा खासै उत्साह जगाउन सकेको छैन ।

कार्यसम्पादन सुस्त रहे पनि प्रमुख महर्जनको विदेश भ्रमण तेज गतिमा भइरहेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएको अनुभूत हुने गरी न्यूनत्तम कार्य नै गर्न नसकेको भन्दै सर्वसाधारण जनतामा असन्तुष्टि रहँदै आएका बेला प्रमुख महर्जन सोमबार राति भियतनामतर्फ गए ।

भियतनाममा हुने विभिन्न राष्ट्रका शहरका मेयरहरुको बैठकमा भाग लिन महर्जन त्यसतर्फ गएको उनका सहयोगी स्वकीय सचिव इन्द्र वज्राचार्यले जानकारी दिए । ‘महानगरपालिकालाई खर्चको भार नपर्ने गरी उहाँ नगई नहुने भएकाले मात्र विदेश जानुभएको हो’, बज्राचार्यले भने– ‘महत्वपूर्ण भ्रमण भएकाले यसअघिको विदेश भ्रमणसँग यसलाई जोडेर लिनुहुन्न ।’ नगर विकासका लागि आवश्यक ज्ञान, सीप र सम्बन्धको विकास गर्न विदेश भ्रमण गर्दै आएको वज्राचार्यको दाबी छ ।

अहिलेसम्म ११औं पटक विदेश भ्रमण
यसअघि चिरिबाबुले १० पटक विदेश भ्रमण गरिसकेका छन् । देशभरका ७५३ स्थानीय तहका प्रमुखमध्ये सबैभन्दा बढी विदेश घुम्ने प्रमुख बनेका छन् । महर्जनले महानगरपालिकाको प्रमुखको पदभार ग्रहण गरेको आउँदो जेठ १० गतेबाट दुई वर्ष पूरा हुनेछ । डेढ वर्षयता उनको विदेश भ्रमणले निकै रफ्तार लिए पनि कार्यसम्पादनले गति लिन नसकेको अवस्था छ ।

महर्जनले यसअघि असोज असोज १४ देखि २१ सम्म मंगोलिया, गत वर्ष साउन १४ देखि भदौ १६ सम्म जापान, भदौ ५ देखि १७ कोरिया, कात्तिक २ देखि ६ श्रीलंका, असोज ५ देखि ११ थाइल्यान्ड, असोज २४ देखि ३० थाइल्यान्ड, पुस ३० देखि माघ ५ सम्म म्यानमार, माघ ८ देखि ११ जापान, फागुन १२ मा फेरि जापान र त्यसपछि चीन गएका थिए । दुई महिनाअघि फेरि चीन भ्रमण जान खोज्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रोकेको थियो ।

भ्रमणबारे प्रतिक्रिया
तर अहिलेसम्म विदेश भ्रमणको उपलब्धि, प्राप्त ज्ञान र अनुभव कार्यमा प्रतिविम्बित भएको अनुभूत नीति, योजना र कार्यक्रममा न कार्यशैलीमा प्रतिविम्बित भएको छ । ‘काम गर्ने सँगैसँगै विदेश पनि गएको भए, त्यति धेरै आलोचनाको विषय हुन नपर्ने हो । तर यहाँ काम भने खासै नभएकाले हामी पनि दिक्क छौं’ –प्रमुख महर्जनका एक सल्लाहकारले भने ।

प्रमुख महर्जनले चुनावमा जित्न, चुनावपछि जनतामा वाचा गरेका प्रतिबद्धता पूरा गर्ने दिशामा काम अघि बढ्ने त टाढाको विषय हो । गत आर्थिक वर्ष २०७४।७५ मा नगरपरिषद्मा घोषणा गरिएका अल्पकालीन महत्वका देखिने कार्यसमेत खासै अघि बढ्न सकेनन् । ‘कार्यसम्पादन सुस्त रहेको पृष्ठभूमिमा विदेश भ्रमणले मात्र निरन्तरता पाएको नगरवासीमा छाप परेको छ । कामहरु किन अघि बढ्न सकेन रु अहिले विचार गर्नुपर्ने विषय यही हो’ –स्थानीयबासी मित्र महर्जनले भने ।

घोषणाअनुसार काम भएन
गत वर्ष असोज १ गते मेयर महर्जनले ललितपुरलाई ट्राफिक जाममुक्त महानगरपालिका घोषणा गरे पनि ललितपुरको ट्राफिक जाम जस्ताको त्यस्तै रहेको छ । सोही दिन पुल्चोकदेखि हरिहरभवनसम्म सोलारबत्ती जडान गर्ने योजनालाई पनि साकार रुप दिनसक्नुभएको छैन ।

सडकमा आवश्यक अध्ययन र पर्याप्त सडक पूर्वाधारबिना नै जाममुक्त महानगर घोषणा गर्दा उक्त योजना केवल योजनामा मात्र रहेको स्थानीयको गुनासो छ । मेयर महर्जनले घोषणा गरेका अल्का हस्पिटलअगाडि पाटन अस्पतालअगाडि, लगनखेल चोकमा दुई अकासेपुल बनाउने, पुल्चोकदेखि बाग्मती पुलसम्म फ्लाइओभर ब्रिज बनाउने, संवेदनशील क्षेत्रमा सिसिटिभी र सोलारबत्ती जडान गर्नेलगायत कुनै पनि योजना शुरु हुन सकेका छैनन् ।

पाटन दरबार क्षेत्रलाई सवारीमुक्त गर्ने योजना, ललितपुरका मूर्त, अर्मूत संस्कृतिको संरक्षण गर्न दरबन्दीको परिमार्जन, स्माट लाइटलगायत योजनाले गति लिन नसकेको महानगरपालिकाका कर्मचारी बताउँछन् ।

‘स्थानीय तहमा जनप्रतिनिधि आएको अनुभूत हुने गरी नगरवासीले देख्ने, अनुभूत हुने गरी खास काम नै भएन’ –स्थानीय टंगल निवासी रवीन्द्रराज ताम्रकारले भने । चालू आर्थिक वर्ष २०७५।७६ का लागि स्वीकृत कार्यक्रम त शुरु हुने क्रममा रहेको छ ।
आजको नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement