जोशी हाइड्रोको १६ लाख ९० हजार कित्ता आइपीओ आउँदै, मंसिर १६ गतेदेखि आवेदन खुला

Advertisement

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणको लागि १६ लाख ९० हजार कित्ता प्राथमिक सेयर (आइपीओ) जारी गर्ने भएको छ । इलामको पुवा अखोलामा २०७१ माघदेखि व्यावसायिक रुपमा तीन मेगावाट विद्युत उत्पादन गरिरहेको जोशी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले यही मंसिर १६ गतेदेखि सेयरको आवेदन खुल्ला गर्ने भएको हो ।

आइपीओमा न्युनतम ५० कित्तादेखि अधिकतम आठ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसको सेयर निष्काशन बन्द हुने मिति छिटोमा मंसिर १९ र ढिलोमा पुस १९ गते रहेको छ ।

कम्पनीको अधिकृत पुँजी ४५ करोड रुपियाँ रहेको छ भने चुक्ता पुँजी ३७ करोड १४ लाख रुपियाँ रहेको छ । जसमध्येको १६ करोड ९० लाख रुपियाँ संकलन गर्न कम्पनीले अहिले आइपीओ जारी गरेको हो । अहिले जारी आइपीओबाट १२ करोड रुपियाँ सर्वसाधारणबाट र चार करोड ९० लाख रुपियाँ संगठित संस्थाबाट गरि कुल १६ करोड ९० लाख रुपियाँ संकलन गर्ने छ ।

आइपीओबाट संकलित पुँजी बैंक ऋण तिर्न उपयोग गरिने कम्पनीले जनाएको छ । कम्पनीले यसअघि तीन लाख ७१ हजार चार सय कित्ता सेयर छुट्ट्याएको थियो । उक्त सेयरमा आवेदन नपरेको एक लाख २९ हजार तीन सय ९० कित्ता र सर्वसाधारणका लागि भनिएको १५ लाख ५५ हजार दुई सय ३३ कित्ता सेयरका लागि अहिले आइपीओ निष्काशन गरेको छ ।

यसमा ५० हजार ७१४ कित्ता कर्मचारीलाई र ८४ हजार ५२३ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आईपीओको ५ ग्रेड दिएको छ । यो कम्पनीले २०७० जेठ १२ मा विद्युत उत्पादनको अनुमति पाएको र यसको अनुमति ३१ वर्ष बाँकी छ ।

यसको साधारण लगानी फिर्ता हुने अवधि ११ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ३० वर्षलाई राखेको छ । यस कम्पनीले हाल प्रतिशेयर आम्दानी ३ रुपियाँ ३ पैसा छ । यसले तीन वर्षमा यस्तो आम्दानी ६ रुपैयाँ पुराउने उल्लेख गरेको छ ।

यसको आयकर पछिको हालको नाफा ५० लाख रुपियाँ रहेको छ । यसले आगामी ३ वर्षमा यस्तो नाफा २ करोड २४ लाख पुराउने उल्लेख छ । यसको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड हो ।

Advertisement

Advertisement

Advertisement