करदाताको गुनासो सुन्न स्थापना गरिएको ‘कल सेन्टर’को भोलि उद्घाटन हुने

Advertisement

काठमाडौं । करदाताहरुको गुनासो तथा समस्याहरुको समाधान गरी कर प्रशासनलाई करदातामैत्री र झन्झटरहित बनाउने उद्देश्यकासाथ आन्तरिक राजश्व विभागले ‘कल सेन्टर’को स्थापना गरेको छ ।

विभागको कार्यालय लाजिम्पाटमा स्थापना गरिएको कल सेन्टर यहि मंसिर एक गतेदेखि साताव्यापी रुपमा मनाउँदै गरेको ‘कर सप्ताह’को छैटौं दिन बिहीबार उद्घाटन गर्ने कार्यक्रम रहेको विभागले जनाएको छ ।

करदाताको सुबिधाकालागि घरमै बसेर अनलाइन माध्यमबाट डिजिटल पेमेन्ट गेटवे प्रयोग गरी कर तिर्न र कर सम्बन्धि अन्य सुबिधाहरु लिन सक्ने गरी प्राबिधिक विकास गरेको विभागले करदाताहरुलाई पर्ने समस्या र द्धिविधाहरुको तत्कालै समाधान गर्न सकिने गरी कल सेन्टरको स्थापना गरेको हो ।

विभागले स्थापना गरेको कल सेन्टरमा एक निशुल्क फोन गर्न सकिने ‘टोल फ्री’ नम्बर र अन्य केही सहयोगी नम्बर रहने विभागका उपमाहानिर्दैशक तथा प्रवक्ता यज्ञप्रसाद ढुंगेलले जानकारी दिए । कल सेन्टरको सेवा करदातामैत्री कर प्रशासन निर्माणका लागि थप पहलकदमी भएको उनले बताए ।

कल सेन्टरमा कर सम्बन्धि सम्पूर्ण गुनासा तथा समस्याहरुहरु राख्न सकिने उनले बताए । फोन मार्फत करदाताबाट आएका गुनासा तथा समस्याहरु र त्यसको समाधानका लागि विभागबाट गरिएको प्रयास समेत रेकर्डिङ गर्ने व्यवस्था भएको कल सेन्टरमा गुनासो सम्बोधनका लागि तीन तहको व्यावस्था भएको उनले बताए ।

‘करदाताले राखेको गुनासो र समस्याको बारेमा सकेसम्म कल सेन्टरमा रहेका कर्मचारीको तहबाट समाधानको कोशिस गरिने र सम्भव नभएमा विभिन्न सेवाहरुको बारेमा पहिलेनै रेकर्ड गरेर राखेको अडियो क्लीप सुनाइने छ,’ उनले भने, ‘यदि यसरी पनि गुनासोको सम्बोधन नभएमा कल सेन्टरमा भएका कर्मचारीले उक्त विषयसँग सम्बन्धित अधिकारीलाई कल पास गर्नेछन् ।’

कल सेन्टर स्थापनाको मुख्य उद्देश्य करदाताको समस्या र गुनासाहरुको सम्बोधन गर्ने भएता पनि यस सेवाबाट कर छली लगाएतका करसँग जोडिएका अवन्छित गतिविधीहरुको बारेमा सुचना आएका त्यसलाई रेकर्ड गरी कारबाही अघि बढाइने ढुंगेलले बताए ।

कल सेन्टरको उद्घाटन भोलि विहीबार हुने भएकाले त्यस पश्चात मात्रै सेन्टरको फोन नम्बर सार्वजनिक सुचना प्रकाशित गरी जानकारी गराइने ढुंगेलले बताए ।

Advertisement

Advertisement

Advertisement