प्रचण्डतर्फ लक्षित गर्दै रावलले भने– केही मान्छे अझै द्धन्द्धमै छु जस्तो व्यवहार देखाउँदैछन्

Advertisement

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले सत्यनिरुपण तथा व्यक्ति बेपत्ता छानबिन आयोगबाट काम सम्पन्न नभएको देख्दा आफूलाई आश्चर्य र दुःख लागेको गुनासो पोखेका छन् ।

बुधबार रिपोर्टर्स क्लबमा उनले भने, ‘दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने काम अहिलेसम्म किन भएन ? मलाई आश्चर्य लागेको छ । आयोगले आफ्नो छानबिनको काम पूरा गर्नेछ । द्वन्द्वबाट पीडितहरुले संक्रमणकालिन न्याय पाउनेछन् । र, त्यसपछि कसैले पनि द्वन्द्वकालमा हामीले भोग्नुपरेको यो पीडा त्यसले निकास पाएका छैनन् भन्ने गुनासो गर्न नपाउन भन्ने उद्देश्यबाट संविधान निर्माणको बखतमा हामीले यो आयोगको परिकल्पना गरेका थियौं । तर, आयोगले समयमै गर्नुपर्ने काम सम्पन्न नगरेकोमा म दुःखी छु ।’

नेता रावलले यी दुई आयोगले सरकारले दिएको काम अहिलेसम्म पूरा नगरेकोमा आफूलाई आश्चर्य लागेको दोहोर्याए । उनले भने, ‘आयोगलाई दिइएको काम अहिलेसम्म पूरा गरेन् । किन काम गर्न सकेन ? मलाई आश्चर्य र दुःख लागेको छ । यदि आयोगहरुलाई कुनै कानुनी तथा व्यवहारिक समस्या छ भने त्यो सरकारलाई भन्नुपर्यो । होइन भने काम किन अघि बढेन ? यदि समस्या छ भने के समस्या हो, त्यसतर्फ सरकारले पनि ध्यान देओस् ।’

मुलुकमा अहिले आफ्नै पार्टीको झण्डै दुई तिहाई बहुमतको सरकार रहेको र प्रदेशमा पनि ६ वटै प्रदेशमा नेकपाको बहुमतको सरकार रहेको सुनाउँदै रावलले भने, ‘अब कुनैपनि प्रकारको द्वन्द्व छैन । र, कसैले कानुन उल्लंघन गरे, संविधान उल्लंघन गरे भने यो त कानुनी शासन हो नि । कानुनबमोजिम सम्बन्धित समूह व्यक्ति जानुपर्छ । त्यो दिशातर्फ सरकार जानुपर्छ भन्ने मेरो आग्रह छ ।’

अहिले पनि हामी द्वन्द्वमै छौं जस्तो गरेर कतिपयले गर्ने व्यवहारप्रति आफू सहमत नभएको रावलको भनाई छ । उनको संकेत आफ्नै पार्टीका एक अध्यक्ष पुष्पकमल दाहालतर्फ बढि लक्षित थियो । रावलले थपे, ‘फेरि नेपाल द्वन्द्वमै छ की भन्ने प्रकारको संकेत आउने, त्यो प्रकारको मान्छेमा भावना दिने कुनैपनि खालका काम सरकार, राजनीतिक दल र नागरिक समाज कसैले पनि गर्नुहुन्न भन्ने मेरो आग्रह छ । किनभने अब हामी द्वन्द्वका ती घाउहरुलाई कोट्याउने, फेरि द्वन्द्वमा जाने, हाम्रो देशको अखण्डता कमजोर हुने, हामी बहुधार्मिक, बहुजातिय, बहुसाँस्कृतिक, तराई, पहाड, हिमाल जहाँसुकै बसेपनि हामी नेपाली हौं । हाम्रो जुन पहिचान छ र हाम्रा जुन उद्देश्यहरु छन्, त्यो उद्देश्य कुनैपनि प्रकारले कमजोर नहोस् । ’

प्रधानमन्त्री केपी ओलीले हिजोमात्रै नीति प्रष्ठिानका पदाधिकारी र सदस्यहरुलाई निर्देशन दिने सन्दर्भमा सरकारका कामकारबाहीहरु अपेक्षित मात्रामा किन भएन ? नीतिमा कहाँनिर कमजोरी भएको छ ? भनेर भनेको कुरा उल्लेख गर्दै रावलले भने, ‘मेरो पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री स्वयमले भनिसकेपछि म पनि सार्वजनिक रुपमा के भन्न चाहन्छु भने अब हामीले स्थायी कमिटिको बैठक बसेर गम्भिर रुपमा नीतिमा कहाँ त्रुटि भयो ? हाम्रा मन्त्रालयहरुमा हामीले गर्ने नियुक्तीहरु, हामीले गर्ने त्यहाँ जनशक्तिको विन्यासमा कहाँनिर कमजोरी भयो ? त्यसमा समिक्षा गर्नुपर्छ । नेपाली जनताले किन टिप्पणी गरिरहेका छन् ? ती टिप्पणीहरु हामीले सुन्नुपर्छ ।’

फरक प्रसंगमा उनले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या जघन्य अपराध भएको बताउँदै हत्यामा संलग्न अपराधीलाई चाँडो भन्दा चाँडो कानुनी कठघरामा उभ्याउनुपर्ने बताए ।

उनले भने, ‘यो निन्दनीय अपराधमा अपराध गर्नेहरुलाई कानुनको दायरामा ल्याउनुपर्छ । यसको लागि प्रभावकारी रुपमा सरकारले जे–जे काम गर्नुपर्ने हो त्यो सबै गर्नुपर्छ । हामी सुदुर पश्चिमका सम्पूर्ण सांसदहरुले प्रधानमन्त्रीलाई भेटेरै यो कुरा लिखित रुपमा पनि भनिसकेका छौं । सरकारको तर्फबाट छानबिनको लागि भैरहेको काम सफल होस् । र, निर्मला पन्तका बुवा–आमाले त्यो अनुसन्धान गर्ने काम छिटो होस् र अपराधी छिटोभन्दा छिटो कानुनको कठघरामा उभिने स्थिति बनोस भनेर आकांक्षा राखेको एकदम राम्रो छ ।’

Advertisement

Advertisement

Advertisement