युएईमा जारी टि—१० लिगको पहिलो खेलमै सन्दीपको चमत्कार, केरलाले पख्तून्सलाई हरायो

Advertisement

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा खेलाडी सन्दीप लामिछाने युएईमा जारी टि–१० लिगमा केरला किंग्सको तर्फबाट पहिलो खेल खेलेका सन्दीपले ३ विकेट लिदै उत्कृष्ट सुरुवात गरेका छन्। केरला किंग्सले पख्तून्सलाई ८ विकेटले पराजित गर्न सन्दीपको प्रदर्शन महत्वपूर्ण रह्यो।

सारजाहा क्रिकेट मैदानमा बुधबार राति टस जितेर पहिला ब्याटिङ गरेको शाहिद अफ्रिदीको टोली पख्तून्सले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो। जसमा स्पिनर सन्दीपले २ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिएका थिए। उनले पहिलो ओभरमा नै २ विकेट लिएका थिए।

पहिलो ओभरको पहिलो बलमा नै एन्ड्री फ्लेचरलाई आउट गरेका सन्दीपले अन्तिम बलमा कोलिन इनग्रामलाई पवेलियनको बाटो देखाए। फ्लेचरले सर्वाधिक ३२ रनको योगदान दिए। उनले १४ बलमा ३ चौंका र २ छक्का प्रहार गरे। कोलिन भने १ रन जोडेका थिए। दोस्रो ओभरमा सन्दीपले मुहम्मद कलिमलाई खाता पनि खोल्न नदिइ आउट गरे।

पख्तून्सका केम्रोन डेलपोर्टले नटआउट २८, चाडविक वाल्टनले १२, लियम डसनले २५ र कप्तान अफ्रिदीले नटआउट ३ रनको योगदान दिए। जवाफमा केरलाले ७ ओभर ५ बलमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। केरलाको सहज जितमा कप्तान इयोन मोर्गानले सर्वाधिक ४६ रनको योगदा दिए। उनले २० बलमा २ चौंका र ५ छक्का प्रहार गरे। त्यस्तै पउल इस्टर्लिङले १४ बलमा ३ चौंका र ४ छक्काको मद्दतमा ४०, क्रिस गेलले १३ र किरोन पोलार्डले ११ रन बनाए।

पख्तून्सका सोहिल खान र लियम डसनले एक–एक विकेट दिए। ३ विकेट लिएका सन्दीप खेलको ‘प्लेयर अफ दि म्याच’ घोषित भए।

Advertisement

Advertisement

Advertisement