पहिलो चौमासिकमा लक्ष्य भन्दा कम राजश्व संकलन

Advertisement

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सरकारको राजस्व संकलन लक्ष्य भन्दा कम रहेको छ । चार महिनाको अबधिमा २ खर्ब ५३ अर्ब ९६ करोड रुपियाँ राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ। यो चौमासिक लक्ष्य भन्दा ३ अर्ब ६८ करोडले कम हो।

सरकारले यस अबधिमा बर्षभरीको कूल राजस्व लक्ष्यको २६.८६ प्रतिशत राजस्व संकलन गरेको छ। सरकारले चालु आर्थिक बर्षमा ९ खर्ब ४५ अर्ब रुपियाँ राजस्व संकलनको लक्ष्य राखेको छ ।

गत वर्षको पहिलो चार महिनाको तुलनामा भने यो वर्ष राजस्व संकलन ३० प्रतिशतले बढेको छ।

अर्थ मन्त्रालयका अनुसार यो अवधिमा मूल्य अभिवृद्धि कर संकलन सुस्त देखिएको छ। यो अवधिमा ८८ अर्ब १ करोड रुपियाँ मूल्य अभिवृद्धि कर संकलनको लक्ष्य राखिएकोमा ८० अर्ब ४३ करोड रुपियाँ अर्थता लक्ष्यको तुलनामा ९१ प्रतिशत मात्रै संकलन भएको छ।

यसैगरी आयकर तर्फ पनि लक्ष्यभन्दा कम राजश्व संकलन भएको छ । ३८ अर्ब ६५ करोड रुपियाँ संकलनको लक्ष्य राखिएकोमा ३५ अर्ब ८९ करोड रुपियाँ अर्थात ९३ प्रतिशत राजस्व संकलन भएको छ।

कात्तिकमा भन्सार संकलन भने लक्ष्यभन्दा धेरै भएको छ। ५३ अर्ब ८ करोड रुपैयाँ भन्सार राजस्व संकलनको लक्ष्य राखिएकोमा ५४ अर्ब २० करोड रुपियाँ असुली भएको मन्त्रालयले जनाएको छ।

गैर कर राजस्वको संकलन पनि लक्ष्यभन्दा निकै कम रहेको छ। ५ अर्ब रुपियाँ बेरुजु समावेश गर्दासमेत गैरकर राजस्व लक्ष्यको तुलनामा ७५ प्रतिशत मात्रै संकलन भएको छ। यो अवधिमा ३२ अर्ब रुपैयाँ गैरकर राजस्व संकलनको लक्ष्य राखिएकोमा २४ अर्ब रुपैयाँ मात्रै संकलन भएको छ।

Advertisement

Advertisement

Advertisement