मर्मतपछि पूर्ण क्षमताभन्दा बढी उत्पादन गर्दै उदयपुर सिमेन्ट उद्योग

Advertisement

उदयपुर । उदयपुर सिमेन्ट उद्योगले पूर्ण क्षमतामा सिमेन्ट उत्पादन गर्दै नयाँ रेकर्ड बनाएको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उद्योगले स्थापनाको २७ औं वर्ष प्रवेशको संघारमा पूर्ण क्षमतामा उत्पादन गरी नयाँ रेकर्ड बनाएको हो ।

उद्योगले उत्पादन गर्दै आएको गैंडा ब्राण्डको सिमेन्ट दक्षिण एसियामै उत्कृष्ट प्रमाणित भइसकेको सिमेन्ट हो । दैनिक आठ सय मेट्रिक टन उत्पादन क्षमता भएको उद्योगले हाल ९७ प्रतिशत उत्पादन गर्न सफल भएको छ । उत्पादन विभागका इन्जिनियर रिवचन्द्र पौडेलका अनुसार सोमबार दुई घण्टा विद्युत कटौति हुँदा ९६ दशमलव २६ प्रतिशत उत्पादन भएको थियो । उक्त रेकर्ड उद्योग स्थापनाकालदेखिकै पहिलो भएको उनले बताए ।

विद्युत कटौती शुन्य भएमा उद्योगले क्षमताभन्दा बढी सिमेन्ट उत्पादन गर्न सक्ने देखिएको छ । विद्युत कटौती नहुने हो भने क्षमताभन्दा बढी सिमेन्ट उत्पादन हुन सक्नेगरी उद्योग सञ्चालन भइरहेको उद्योगका मेकानिकल प्रमुख टीका कुँवरलृ जानकारी दिए । उनका अनुसार हाल उद्योगमा दैनिक एकदेखि चार घण्टासम्म विद्युत कटौती हुँदा पनि आठ सय मेट्रिक टनभन्दा बढी सिमेन्ट उत्पादन हुनु भनेको क्षमतााभन्दा बढी नै हो ।

उनका अनुसार उद्योग स्थापना कालदेखि कहिल्यै महिनादिनसम्म निरन्तर उद्योग चलेको थिएन । यसपटक कात्तिक चार गतेदेखि ३१ दिनसम्म लगातार उद्योग चलेको यो पहिलो घटना हो । विगत २० वर्षदेखि उद्योगमा कार्यरत कुँवरका अनुसार धेरै दिन चलेमा १५ नि नत्र सात १० दिनमै मर्मत गर्नुपर्ने अवस्था रहेको थियो । गत असोजमा उद्योगको स्तरोन्नति गरेपछि भने उद्योगले लगातार ३१ दिनसम्म उत्पादन गरिरहेको छ ।

उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडेलका अनुसार स्थापनायताकै साम्रो र ठूलो स्तरोन्नतिपछि उद्योग यो अवस्थामा आइपुगेको बताए । महिनादिन लामो मर्मतपछि सञ्चालन गरिएको उद्योग लगातार काम गरिरहेको उनले बताए ।

पौडेलका अनुसार जापान सरकारको सहयोगमा निर्माण गरिएको उद्योगमा यत्ति ठूलो मर्मत भएको पहिलो घटना हो । आफु उद्योगमा काम गर्न थालेको तीन वर्षपछि पूर्ण मर्मत भएको उनले बताए । मर्मतपछि भने लगातार ३१ दिनसम्म उद्योग चलेको छ ।

मर्मतपछि कात्तिक ४ गतेदेखि सञ्चालनमा आएको उद्योगले हालसम्म १६ हजार टन गैंडा सिमेन्ट उत्पादन गरिसकेको छ । २४ घण्टभित्र कम्तीमा दुईदेखि छ पटकसम्म विद्युत कटौती हुने गरेकोले बीचबीचमा उत्पादनमा बाधा आउने गरेको उनले बताए ।

आठ सय मेट्रिक टन पूर्ण उत्पादन क्षमता भए पनि दैनिक २–४ पटक विद्युत कटौती नहुने हो भने दैनिक नै सय मेट्रिक टनसम्म सहजै सिमेन्ट उत्पादन गर्न सकिने उनले बताए ।

२–३ घण्टा विद्युत कटौती हुँदा पनि पूर्ण क्षमतामा उत्पादन हुनु भनेको २४ घण्टै विद्युत भए एक सय २० प्रतिशतसम्म उत्पादन गर्न सकिने पौडेलले बताए ।

Advertisement

Advertisement

Advertisement