मुख्यमन्त्री नै भन्छन्- संघीयता असफल पारिँदै छ

Advertisement

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केही शक्तिहरु नेपालमा संघीयता असफल पार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन । बिहीबार संवाद चौतारीमा शाहीले संघीयता नरुचाउने केही शक्तिहरु केन्द्र, प्रदेश र स्थानीय सरकार बीच अधिकारको विवाद सल्काएर यसलाई बदनाम बनाउन लागेको आरोप लगाए ।

कम्यूनिष्ट पार्टीलाई दुईतिहाई बहुमत दिएर जनताले अग्नी परिक्षा दिएको भन्दै उनले कसैलाई पनि दोष दिएर अहिलेको सरकार उम्कन नपाउने बताए । शाहीले संघीयता कागजमा व्यवस्था गरे पनि सोचमा स्थापित हुन नसकेको भन्दै नयाँ ब्यवस्थामा अभ्यस्त हुनका लागि ‘बे्रन वार’ चलाउनुपर्नेे बताए ।

केन्द्र सरकारले प्रशासनिक र वित्तीय अधिकारबारे अहिलेसम्म पनि प्रदेश सरकारलाई स्पष्ट अधिकार नदिएर काम गर्न कठिनाई भएको उनको भनाई छ । शाहीले केही दिनमै प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीच हुनलागेको समन्वय परिषद बैठकमा यसबारेमा आफूहरुले विशेषरुपमा कुरा उठाउने जानकारी दिए । एक फरक प्रसंगमा मुख्यमन्त्री शाहीले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीलाई जागिरबाटै विदा गरेर नयाँ कर्मचारी भर्ना गर्ने आँट केन्द्र सरकारले गर्नुपर्ने समेत बताए ।

Advertisement

Advertisement

Advertisement