कार्यान्वयन क्षमता कमजोर हुँदा आयोजनाको प्रगति न्युनः एडिबी

Advertisement

काठमाडौं । नेपालको एक प्रमुख विकास साझेदार एसियाली विकास बैंक (एडिबी)ले नेपालको विकास आयोजना कार्यान्वयनको क्षमतामाथि प्रश्न उठाएको छ । काठमाडौंमा भएको त्रिपक्षीय समिक्षा बैंठकमा बोल्दै बैंकका उपमहानिर्देशक दिवेस सरणले आयोजना कार्यान्वयनको कमजोर प्रगतिमाथि चिन्ता प्रकट गरेका हुन् ।

नेपालको विकासका लागि दुई अर्ब ८० करोड डलर सहयोग गरे पनि अहिलेसम्म विकासको कार्यप्रगति भने निराशाजनक रहेको उपमहानिर्देशक सरणले बताए । विभिन्न ३६ वटा आयोजनाहरुमध्ये ४४ प्रतिशतको ठेक्का दिइएको र ६४ प्रतिशतको आयोजनाहरुको लागि रकम निकासा गरिए पनि ठेक्का समेत लगाउन नसकिएकोमा उनले असन्तुष्टि प्रकट गरे ।

एडिबीले हालसम्म दुई अर्ब ८० करोड डलर नेपालको विकासका लागि सहयोग गरेको छ । एडिबीले अनुदान र ऋण सहयोग गरी हालसम्म उक्त परिमाणको रकम सहयोग गरेको हो ।

एडिबीले नेपालको विकासका लागि विभिन्न छ वटा क्षेत्रका ३६ वटा परियोजनाहरुमा सहयोग गर्दै आएको छ । जसमध्ये शहरी विकास र खानेपानीमा सबैभन्दा बढी सहयोग गरेको छ ।

यसैगरी एडिबीले यातायात क्षेत्रमा दोस्रो बढी लगानी गरेको छ । नेपालको विकासमा एडिबीले ठूलो रकम सहायता प्रदान गरेपनि सोही अनुरुप कार्यप्रगती भने हुन नसकेको जनाएको छ ।

यस्तै एडिबीले यो वर्षको ठेक्का सम्झौताका परियोजनाहरुको प्रगतिको लक्ष्य ४४ करोड ७० लाख डलरको राखे पनि कार्यप्रगति भने जम्मा १७ करोड डलरको मात्र भएको छ । ३३ करोड डलर निकासाको लक्ष्य राखेकोमा यो वर्षको अन्त्यसम्ममा १८ करोड डलरमात्रै निकासा हुने देखिएको एडिबीले बताएको छ ।

सन् २०१८ का लागि एडिबीले राखेको लाक्ष्यको ३८ प्रतिशत काम मात्र पुरा भएको छ । एडिबीले मेलम्ची खानेपानी आयोजनाको अन्तिम म्याद सेप्टेम्वर २३ सम्मको राखे पनि हालसम्म हेडवर्क तथा सेटलिङ बेसिनको काममा ढिलाइ भएको देखाएको छ ।

खानेपानी क्षेत्रमा जम्मा ४८ कार्यक्रममध्ये जम्मा १७ वटा कार्यक्रमहरुमात्रै सम्पन्न भएका छन् । एडिबीले पछिल्लो समय गौतमबुद्ध विमानस्थलको कार्यप्रगति विस्तारै भएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement