केही मिडिया नियोजितरुपमा नेपाल वायुसेवा निगम सिध्याउन लागेको कंसाकारको आरोप

Advertisement

काठमाडौं । “जहाज किनेको हो कि भाडामा लिएको हो, खरीदको कागजात चाहियो” पूर्वपर्यटनमन्त्री भीम रावलले प्रश्न गरे । उनँको प्रश्नलाई थप बल दिँदै नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले जहाज खरीद प्रक्रियाको प्रष्टताको माग गरे ।

लगत्तै पूर्वप्रधानमन्त्री माधव नेपालले निगमको वाइडबडी जहाज खरीदको अस्पष्टता, भ्रष्टाचार इत्यादि कुरा देशको इज्जत र प्रतिष्ठासँग जोडिएको गम्भीर विषय भएकाले समिति गठन गरी गम्भीर छानबिन गर्नुपर्ने माग गरेपछि शुक्रबारको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा निकै हङ्गामा मच्छियो ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरीद सम्बन्धमा करीब चार घण्टा चलेका सवाल जवाफका दृश्य निकै रोचक र घत लाख्दा थिए । समितिका सदस्य, सरोकारवाला निकायका पदाधिकारी तथा पत्रकारले खचाखच भरिएको समितिको हलमा क्षणभरमै कोलाहल मच्चियो ।

बैठकको उत्तरार्धमा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जहाज खरीद प्रक्रियाको कागज असन बजारमा फाल्नुपर्ने र गाडीभरि ल्याएर बाँड्नुपर्ने भनेपछि बीचमा समय मागेर भीम रावलले कंसाकारको उक्त भनाइप्रति कडा शब्दमा आपत्ति जनाए । कंसाकारले आवेशमा केही मिडियाले आफ्नो संस्थाप्रति नियोजितरूपमा लागेको आरोप लगाएपछि सांसदले त्यसको बचाऊ गर्दै लोकतन्त्रमा मिडियालाई विश्वास गर्नुपर्ने र आएका कुरालाई संस्थाले स्पष्ट गर्नुपर्ने सुझाए ।

महाप्रबन्धक कंसारकारले मिडियामा आएको कुरालाई आफूले हासी मजाक गरिरहेको भनेपछि रावलले यस्तो गम्भीर विषयमा विशिष्ट व्यक्तिको उपस्थितमा अपमानजनक तरिकाले बोल्ने भनेर औलो उठाएपछि कंसाकारले आफ्नो गल्ती भएको र आगामी दिनमा प्रस्तुति सुधार्ने वाचा गरेपछि बैठक केही मत्थर हुँदै अघि बढेको थियो ।

रावल र कंसाकारबीच निकैबेर सवाल जवाफ चलेपछि समितिका सभापति पवित्रा निरौला (खरेल) ले गम्भीर विषय भएकाले छानबिन गरी सत्यतथ्य बाहिर ल्याउने बताएपछि माहोल केही मत्थर भएको थियो । ठूलो ऋण खर्चेर करोडौँ घाटा ब्यहोर्नुपरेको निगमलाई वाइडबडी आवश्यकता हो कि हैन भनी प्रश्न उठाउँदै सभापति निरौलाले जहाज खरीदको आवश्यक कागजपत्र समितिलाई उपलब्ध गराउन सम्बन्धिन निकायको ध्यानाकर्षण गराए ।

समितिका अर्का सदस्य दिव्यमणि राजभण्डारीले महाप्रबन्धक कंसाकारलाई कठघरामा न्यायाधीशले प्रश्न गर्ने शैलीमा जिज्ञासा राख्दै अहिलेको परिवर्तित अवस्थामा हजुर मर्जिहोस् जस्ता उपमा किन बोलेको भनेर चर्किएपछि पुनः हासोले हल गुञ्जायमान भयो ।

बैठकमा सदस्य भीम रावल, अग्निप्रसाद सापकोटा, सुरेन्द्रकुमार कार्की, सुजाता कोइराला, नारायण खड्का, पुष्पा भुसाल, नारदमुनि रानाले विषयवस्तुमाथि एकै स्वरमा राज्यको स्वामित्व रहेको निगमले ठूलो रकम खर्चेर भित्र्याएको वाइडबडी जहाजको सन्दर्भमा उठेका विषयको उपसमिति गठन गरी निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारवाही गर्न माग गरे ।

यस्तै सदस्य सुजाता कोइराला, पुष्पा भुसाललगायतले जहाज खरीदको आवश्यकता, औचित्यता र व्यावसायिक कार्ययोजनाबारे जानकारी माग गर्दै समितिले उपयुक्त विषयमा छानबिन गर्नुपर्ने धारणा राखे ।

बैठकका जिज्ञासा सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी जहाज खरीद प्रक्रियबारे छानबिन समितिलाई पूर्ण सहयोग गर्ने र यदि कोही दोषी भेटिएका कानूनी कारवाहीको भागीदार हुने स्पष्ट पारे । उनले भने, “निगमको भविष्य उज्वल छ तर भित्री व्यवस्थापन सुधार्न जरुरी छ, छानबिन समितिको सिफारिश कार्यान्वयन गर्न मन्त्रालय पूर्ण प्रतिबद्ध छ, गल्ती गर्नेलाई कारवाही गरी निगमलाई प्रभावकारी बनाएर लैजानैपर्छ ।”

मन्त्री अधिकारीले निगमलाई प्रभावकारी र प्रतिस्पर्धी बनाउनु सबैको चासोको विषय भएकाले व्यवस्थापनको कमजोरीकै कारण देशलाई नै असर गर्ने काम भए पदाधिकारी हेरफेर गरेर भए पनि निगमलाई सुधार्ने बताए । उनले जहाज खरीदसँग सम्बन्धित कागजात २४ घण्टाभित्र समितिलाई उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरे । मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले जहाज खरीदबारे उठेका जिज्ञासा सम्बोधन गर्न छानबिन समिति गठन गरी दोषीलाई कारवाही गरिने बताए ।

उनले भने, “देशकै प्रतिष्ठाको विषय रहेको निगमको जहाज खरीद प्रक्रियाले म सचिव भएर हिँड्न पनि असहज भइरहेको छ, यो प्रक्रियामा झण्डै पाँच मन्त्री र छ जना सचिव देखिनुहुन्छ, त्यसैले समिति गठन होस् छानबिनमा हामी पूर्ण सहयोग गर्छौं किनकी हामीलाई पनि जवाफ दिएर हैरान भइसक्यो, छुदै नछोएको विषयमा उन्मुक्ति मिल्ने थियो ।”

निगम सञ्चालक समितिका सचिवसमेत रहनुभएका सचिव देवकोटाले नयाँ वाइडबडी जहाजको गन्तव्य विस्तारका लागि प्रयास भइरहेको र अबको केही महीनाभित्रै चीनको ग्वोञ्झाओ र जापानको ओसाका उडान भर्ने तयारी गरिएको जानकारी दिए ।

निगमका महाप्रबन्धक कंसाकारले जहाजको स्वामित्व निगमकै रहेको र आवश्यक सम्पूर्ण कागजात उपलब्ध गराउन तयार रहेको स्पष्टोक्ति दिए । ऋण तिर्ने योजनाबारे सांसदको जिज्ञासाको जवाफ दिँदै महाप्रबन्धक कंसाकारले १५ वर्षभित्र किस्ता चुक्ता गर्ने गरी ऋण लिएको र अहिले नियमितरुपमै किस्ता बुझाएकाले आत्तिहाल्नुपर्ने अवस्था छैन भने ।

निगमले कर्मचारी सञ्चयकोष र नागरिक लगानीकोषको ऋणमा दुई नयाँ वाइडबडी जहाज खरीद गरेको थियो । फ्रान्सको एयरबस कम्पनीसँग रु २४ अर्बभन्दा बढीमा ती जहाज खरीद गरिएको थियो ।

पहिलो वाइडबडी जहाज ए३३०–२०० नाइनएन एएलवाई कलसाइनको ‘अन्नपूर्ण’ गत असार १४ गते र दोस्रो वाइडबडी जहाज ए३३०–२०० एएलजेड ‘मकालु’ विमान साउन १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

जहाज खरीदबारे छानबिन उपसमिति गठन
समितिको आजको बैठकले नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरीद सम्बन्धमा छानबिन उपसमिति गठन गरेको छ । समिति सदस्य प्रकाशमान सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । उपसमितिको सदस्यमा नारदमुनि राना र रेनुका गुरुङ हुनुहुन्छ । उपसमितिलाई छानबिन गरी एक महीनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।

Advertisement

Advertisement

Advertisement