वैदेशिक रोजगारी छोडेर स्वदेशमा उद्यम गर्न चाहने युवालाई २ प्रतिशत ब्याजदरमा १० लाखसम्म ऋण

Advertisement

काठमाडौं । वैदेशिक रोजगारीमा गएका युवाहरुलाई स्वदेशमै फर्किएर उद्यम गर्न चाहे युवाहरुलाई दुई प्रतिशत ब्याजदरमा १० लाख रुपियाँसम्म ऋण दिने भन्दै सरकारले त्यसका लागि त्यसका लागि निवेदन दिन आह्वान गरेको छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले सुचना प्रकाशित गरी वैदेशिक रोजगारीका क्रममा विशेष ज्ञान, सीप र दक्षता हासिल गरेर नेपालमै फर्की स्वदेशमा पेशा व्यवसाय वा उद्यम गर्न चाहने युवाहरुलाई यस्तो ऋण प्रदान गरिने भन्दै इच्छुकहरुले तोकिएको ढाँचामा निवेदन फारम भरी बोर्डको सचिवालयमा पुसभित्र आइपुग्नेगरी पठाउन आग्रह गरेको छ ।

सरकारले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा वैदेशिक रोजगारीमा गएका युवाहरुलाई स्वदेशमै काम गर्ने बाताबरणका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउने घोषणा गरेअनुसार बोर्डले त्यसको कार्यान्वयनका लागि बल्ल सुचना जारी गरेको हो ।

पाँच बर्षभित्र युवाहरुलाई रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य गर्ने बताउँदै आएको सरकारले उनीहरुलाई लक्षित गरी कार्यक्रम ल्याउन नसकेको भन्दै सरकारको आलोचना हुँदै आएको थियो ।

बोर्डका अनुसार व्यवसाय परियोजना धितो राखेर उनीहरुले ऋण पाउने छन् भने कम्तीमा पनि ६ महिना वैदेशिक रोजगारीमा बिताएको र वैदेशिक रोजगारीबाट फर्किएको तीन वर्षभन्दा बढि नभएका युवाले मात्रै यस कार्यक्रममा सहभागी हुन पाउने छन् ।

निवेदनमा उनीहरुले आफूले सिकेको ज्ञान र सीप पनि उल्लेख गर्नुपर्ने हुन्छ । यस्ता युवालाई राष्ट्र बैंकको निर्देशनमा सम्बिन्धत जिल्लाका बैंकले ऋण दिने छन्। सरकारले यसअघि नै सहुलियतपूर्ण कर्जा, ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ जारी गरिसकेको छ ।

ऋण लिने युवाले पाँच वर्षमा ऋण भुक्तानी गर्नुपर्नेछ भने सरकारले ब्याजमा अनुदानसमेत दिने जनाएको छ । इच्छुक युवाहरुले बोर्डको सचिवालयको वेभसाइटमार्फत निवेदन फारम डाउनलोड गर्न सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement