आतङ्कवादी समूहभन्दा रूस बढी खतराः बेलायत

Advertisement

लण्डन, बेलायत । बेलायतको सुरक्षामा कुनै आतङ्कवादी समूहभन्दा रूसबाट बढी खतरा रहेकोे यहाँको सेनाले बताइएको छ । बेलायती सेना प्रमुख जनरल मार्क कार्लेटन–स्मिथले ‘दि टेलिग्राफ’ दैनिकमा शनिबार प्रकाशित एक अन्तर्वार्तामा बेलायतलाई स्लामिक स्टेट (आइएस) र अल कायदाभन्दा रूसी पक्षबाट खतरा बढी रहेको बताए ।

कार्लेटन–स्मिथले भने, “मस्कोले आफ्नो राष्ट्रिय हितका नाममा ‘पश्चिमी सुरक्षा सम्वेदनशील क्षेत्रमा’ आफ्नो सेनालाई प्रयोग गर्न चाहेको देखिएको छ । आज रूसले हाम्रो राष्ट्रिय सुरक्षामाथि आइएस वा अलकायदाले भन्दा व्यापक खतरा निम्त्याएको छ ।

उनले थपे, “रूसले बेलायत तथा पश्चिमा मुलुकमा खासगरी साइबर, स्पेस तथा सामुद्रिक सतहमूनि हुने गैर–परम्परागत क्षेत्रहरूमा योजनावद्ध तरिकाले सुरक्षा खतरा बढाएको छ ।”

सन् २०१८ मा रूस र चीनको सम्बन्ध ऐतिहासिक रूपमा नै निकै कमजोर देखिएको छ । गत मार्चमा ६६ वर्षीय पूर्व रुसी गुप्तचर सर्गेई स्क्रिपाल र उनकी ३३ वर्षीया छोरीमाथि स्नायुप्रणालीमा असर गर्ने नोभिचोक भनिने विषालु पदार्थबाट आक्रमण भएको र यसमा रुसी सरकारको उच्च तहबाटै हत्याको प्रयास गराएको आरोपसमेत बेलायतको छ ।

रुसी सैन्य गुप्तचर एलेक्जान्डर पेट्रभ र रुस्लान बसिरफले हत्याको प्रयास गरेको आरोप बेलायतले लगाएको छ यद्यपि रुसले भने बेलायतको आरोप आधारहीन भएको भन्दै खण्डन गरेको थियो । यससँगै बेलायतले केही रूसी कुटनीतिज्ञलाई देश निकाला गरेको थियो भने मस्कोले पनि जस्तालाई तस्तै भन्ने खालको समान निर्णयमार्फत बेलायती कुटनीतिज्ञलाई देश छोड्न निर्देशन दिएको थियो ।

Advertisement

Advertisement

Advertisement