जुरे पहिरो पीडितले पनि भूकम्पपीडितसरह ३ लाख राहत पाउने

Advertisement

काठमाडौं । सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले घरबार गुमाएका पीडितहरुले भूकम्पपीडित सरह तीन लाख रुपियाँ राहत पाउने भएका छन् । गत कात्तिक २९ गते बसेको मन्त्रिपरिषद्को बैंठकले नेपाल बैंक चौतारा शाखामा जम्मा भए पनि वितरण हुन नसकेको राहत रकम फुकुवा गरेसँगै पीडितले पाउने बाटो खुलेको हो ।

नेपाल बैंकको उक्त शाखामा राहत रकम जम्मा भए पनि वितरण हुन सकेको थिएन । चार वर्ष अघिको पहिरोमा परी घरबार बिहिन भएका पीडितलाई सरकारले नयाँ घर बनाउन तीन लाख रुपियाँ राहत दिन लागेको हो ।

‘जुरे पहिरोपीडितलाई भूकम्पपीडित सरह राहत दिने निर्णय भएको छ’ सञ्चार सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले भने, ‘नेपाल बैंकको चौतारा शाखामा राहत रकम संकलन भएको छ । जुन अहिलेसम्म वितरण हुन सकेको थिएन ।’ उनले थपे, ‘पहिले पनि उहाँहरुले राहत त पाउनुभएको थियो । तर उहाँहरुकै नाममा बैंकमा जम्मा भएको रकम रोक्का थियो । सरकारले फूकुवा गरिदियो ।’

पहिरो पीडितका नाममा दुई करोड ४१ लाख रुपियाँ नेपाल बैंकको उक्त शाखामा जम्मा भएको सिन्धुपाल्चोक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए । यो रकम विभिन्न व्यक्तिहरुले गरेको सहयोगमार्फत जम्मा भएको उनले बताए ।

राहत उपलब्ध गराउनुपूर्व जिल्ला विपद् व्यवस्थापन समितिले गाउँ विपद् व्यवस्थापन समितिसँग समन्वय गरी लाभग्राहीको संख्या टंगो लगाउनु पर्ने हुन्छ । अधिकांश पहिरोपीडितले भूकम्पपीडित बनेर तीन लाख रुपियाँका दरले राहत लिइसकेका छन् । सरकारले दोहोरो सुविधा नपर्ने गरि लाभग्राहीको संख्या टुंगो लगाउन निर्देशन दिएको प्रजिअ अधिकारीले बताए ।

२०७१ साल साउन १६ गते सिन्धुपाल्चोकको मांखास्थित जुरेमा एक सय ७५ जनाको ज्यान लिनेगरि पहिरो गएको थियो । सरकारले यसअघिनै मृतकका परिवारलाई किरिया खर्चवापत् ४० हजार र एक लाख रुपियाँका दरले राहत दिइसकेको छ ।

Advertisement

Advertisement

Advertisement