काँग्रेस नेताको खुलासा– राष्ट्रपतिलाई गाडि सुविधाको निर्णय हाम्रै नेता देउवाले गर्नुभएको

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल काँग्रेसका नेता दीपक खड्काले राष्ट्रपतिको लागि गाडी खरिद गर्ने कुरालाई आफूले ठूलो विषय नमानेको बताए । रिपोर्टर्स क्लवमा आइतबार उनले भने, ‘नेपालको गौरवको निम्ति र सुरक्षाको हिसाबले गाडी व्यवस्था गर्नुपर्छ । आवश्यकीय कुराको प्रबन्ध गर्नुपर्छ ।’

यद्यपी खड्काले यत्रो कुरा बाहिर आईसकेकोले अब गाडी विलासीको लागि हो ? वा आवश्यकता हो ? भन्ने कुरा सम्बन्धित निकायले प्रष्ट पार्नुपर्ने बताए । आफूहरुले यो व्यवस्थालाई बलियो बनाउन चाहेको पनि उनले सुनाए ।

तर, राष्ट्रपतिको सवारी हुँदा स्कुले विद्यार्थीहरुले समेत ५ देखि ६ घण्टाको ट्राफिक जाम झेल्नुपरेको उनले सुनाए । खड्काले भने, ‘यो ध्यान दिने विषय हो ।’ खड्काले राष्ट्रपतिलाई गाडि महंगो गाडि दिने निर्णय तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको तर उक्त निर्णयलाई राष्ट्रपतिले दुई महिनासम्म थन्काएको खुलासा गरे ।

नेता तथा साँसदहरुले सुविधा बढाउनेदेखि नेता कार्यकर्तालाई राज्यकोषबाट ठूलो रकम दिने कुरा देउवाले यसअघि पनि पटक पटक निर्णय गरेकाले उनी आलोचित हुँदै आएका छन् । खड्काले राष्ट्रपतिको पनि आलोचना गरे ।

उनले भने, ‘दशैंको बेला पूर्व सम्मानित व्यक्तिलाई टिका लगाएको दृश्य पनि अस्वभाविक छ । यस्ता विषय त पदमा बस्नेले जान्नुपर्ने विषय हो ।’ राष्ट्रपतिले हालै संसदमा सम्बोधन गर्दा पनि आलोचना व्यहोर्नुपरेको खड्काले सुनाए ।

उनले थपे, ‘राष्ट्रपतिले आफ्नो चरित्र संस्था सुहाउँदो बनाउनुपर्छ । संस्था सुहाउँदो चरित्र भएन भने त्यो गतिविधिले व्यवस्थामा फरक पर्न सक्छ, सरकारलाई फरक पर्न सक्छ, जनतालाई फरक पर्न सक्छ । यता तर्फ म यो संस्थालाई सचेत गराउन अनुरोध गर्दछु ।’

खड्काले वर्तमान सरकारले न्यायालय र व्यवस्थापिकालाई आफ्नो गोजीमा राखेको आरोप लगाए । वर्तमान सरकारको यो ९ महिनाको गतिविधिहरु हेर्दा सरकार कानमा तेल हालेर बसेको पनि खड्को टिप्पणी छ ।

नेता खड्काले राष्ट्रपति संस्थाप्रति नेपाली जनताले विश्वास हाँसिल गर्न सकुन र संस्थाले आफूले गर्नुपर्ने भूमिकामा कहीँ नचुकोस् भन्ने आफूहरुले चाहेको बताए । उनले भने, ‘हामी सबै नेपालीहरुले मिलेर निर्माण गरेको संस्था हो यो संस्था । राजतन्त्रलाई फालेर र परास्त गरेर राष्ट्रपतीय शासन व्यवस्थामा हामी छौं । र, यो व्यवस्थाको जगेर्ना गर्ने हाम्रो दायित्व हो । तर पदमा बसेका मान्छेले यो कुरा ख्याल गर्नुपर्छ ।’

निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यतिका दिन बितिसक्दा पनि सरकारले हत्यारा पत्ता लगाउन नसकेको र मुलुकमा शान्ति, सुरक्षा कायम गर्न नसकेको खड्काको आरोप छ । उनले भने, ‘जनताको तहबाट उठेका प्रश्नहरुको सरकारले उत्तर दिनुपर्छ । यस्तो लाचारी कुरा गरेर हुँदैन् । अहिले सरकारमाथि शंका गर्ने र भन्ने ठाउँ प्रशस्त छ ।’

बजेट आएको ६ महिना भइसकेको तर अहिलेसम्म ८ प्रतिशत पनि विकास खर्च नभएको खड्काले सुनाए । उनले भने, ‘हरेक मन्त्रालयमा भ्रष्टाचार व्याप्त छ । अनि भर्खरै ९ महिना भएको छ, हामी काम गर्छौं भनेर लाचारी कुरा गरेर हुन्छ ?’

Advertisement

Advertisement

Advertisement