भेटेरिनरी एम्बुलेन्स खरिदमा अनियमितता, डेढ करोड खर्चिएको एम्बुलेन्समा एउटा भैंसी पनि अटेन

Advertisement

काठमाडौं । देशकै पहिलो भेटेरिनरी एम्बुलेन्स खरिदमा व्यापक अनियमितता भएको खुलेको छ । केन्द्रीय भेटेरिनरी अस्पतालले एक करोड ४३ लाखमा किनेको एम्बुलेन्समा एउटा भैँसी पनि नअटेपछि अनियमितता सार्वजनिक भएको हो ।

पशुसेवा विभागअन्तर्गतको भेटेरिनरी अस्पतालमा गत भदौमा भित्रिएको एम्बुलेन्समा एउटा भैँसी पनि नअटाएपछि कर्मचारीले आपत्ति जनाउँदै आएका छन् । उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दिएका छन् । एम्बुलेन्स खरिद गर्दा डा. रामकुमार मण्डल अस्पतालका प्रमुख दिए ।

पाठेघर बटारिएर गाईभैँसीले बच्चा जन्माउन नसके शल्यक्रियाका लागि अस्पताल ल्याउन एम्बुलेन्स खरिद गरिएको हो । यस्तै, प्लास्टिक, किला, काँटी खाएका पशुलाई पनि एम्बुलेन्समा राखेर शल्यक्रियाका लागि भेटेरिनरी अस्पताल ल्याउनुपर्ने हुन्छ । अस्पतालका पशु चिकित्सकहरू भेटेरिनरी एम्बुलेन्स अत्यावश्यक भए पनि खरिदमा अनियमितता भएको बताउँछन् ।

एम्बुलेन्स नआउँदै पूरा भुक्तानी, अहिलेसम्म ब्लुबुक छैन
अस्पतालमा भदौ महिनामा एम्बुलेन्स आइपुग्यो । तर, भुक्तानी भने त्यसअघि नै भएको खुलेको छ । असार मसान्तभित्रै सबै भुक्तानी भएको अस्पताल प्रमुख थापाले बताए ।

भैँसी नअटेपछि वर्कसपमा लगेर ठोकठाक
अस्पतालले एम्बुलेन्स भन्दै मापदण्डविपरीत आइचर कम्पनीको मिनी ट्रक खरिद गर्‍यो । जब एउटा भैँसी पनि अटाएन, समस्या सुरु भयो । खरिदअघि ९० हर्सपावरको हुनुपर्ने स्पेसिफिकेसन बनाइए पनि एम्बुलेन्स ६० हर्सपावरको मात्रै खरिद गरिएको छ । दुई नम्बर गेयरमा पनि नतानेपछि एक नम्बरमै चलाउनुपरेको अस्पतालका कर्मचारीहरू बताउँछन् ।

प्रयोगमा ल्याउनै समस्या भएपछि एम्बुलेन्स वर्कसप पठाएर ठोकठाक गरिएको छ । हालका अस्पताल प्रमुख डा. बलराम थापा आफू नेतृत्वमा आएपछि नै दुईपटक वर्कसपमा पठाएको बताउँछन् । ‘बिरामी भैँसी अस्पताल ल्याउन सम्भव नै नभएपछि मर्मतका लागि दुईपटक वर्कसप पठायौँ,’ थापाले भने, ‘ग्राउन्ड ह्यान्डलिङ पनि मापदण्डअनुसार नहुँदा जमिनमा धसिने भएकाले माथि उठाउन लगाइयो । हेडलाइट, गियरलगायतमा पनि समस्या छ ।’

मान्छेका डाक्टरले पशुको एम्बुलेन्सको स्पेसिफिकेसन बनाउँदा समस्या
मान्छेका डाक्टरले भेटेरिनरी एम्बुलेन्सको स्पेसिफिकेसन बनाएकाले समस्या भएको अस्पताल प्रमुख थापाको आरोप छ । सो एम्बुलेन्समा भेन्टिलेटर, मोनिटर, अक्सिजन सिलिन्डरलगायत अन्य उपकरण राखिएको र यी सामान एम्बुलेन्सभित्र पशुका लागि फिट गर्न सम्भव नहुने उनी बताउँछन् । ‘मैले हेरेँ, त्यस्ता चिज एम्बुलेन्समा होइन, अस्पतालमा चाहिँ काम आउन सक्छन्,’ उनले भने, ‘भैँसी राम्ररी फर्किनसमेत नसक्ने गाडीमा कसरी भेन्टिलेटर लगाउनु हुन्छ ?’

आजको नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement