नासाको अन्तरिक्ष मानवरहित यान ‘मार्स इन्साईट’ मङ्गलग्रहमा अवतरण (भिडीयोसहित)

Advertisement

एजेन्सी । अमेरिकी अन्तरिक्ष संस्था (नासा)को करिब एक अर्ब अमेरिकी डलरको ‘मार्स इन्साइट’ अन्तरिक्ष यान पहिलोपटक मङ्गलग्रहमा अवतरण गरेको छ । उक्त यानमा रहेको रोबोटले मङ्गलग्रहको सतहको पहिलो तस्वीर पठाएको नासाले जनाएको छ । मार्स इन्साइटको मुख्य लक्ष्य नै रातो ग्रहका रुपमा परिचित मङ्गलग्रहको भित्री तहको रहस्य खोतल्नु, अर्बौं वर्ष पहिले यसको निर्माण कसरी भयो, र पृथ्वीको जस्तै अरु उपग्रह कसरी चट्टानी स्वरुपमा बने भन्ने थाहा पाउनु हो ।

Advertisement

मानवरहीत यो अन्तरिक्ष यान करिब सात महिना पहिले प्रक्षेपण गरिएको थियो । पृथ्वीको सबैभन्दा नजिकको मङ्गलग्रहमा अन्तरिक्ष यान पुर्याउने नासाको यो प्रयत्न सफल भएकामा नासाका वैज्ञानिकहरुले खुशीयाली मनाएका छन् । सन् २०१२ मा क्युरिओसिटी रोभर नामको रोबोट बनेपछि वैज्ञानिकमा नयाँ आशा पलाएको थियो ।
यसअघि मङ्गलग्रहमा पुग्न ४३ भन्दा बढी पटक प्रयत्न गरिएको थियो । विश्वका अन्य मुलुकबाट गरिएका प्रयत्न समेत असफल भएका थिए । नासाको यस पटकको अन्तरिक्ष यानमा रहेको रोबोटमा युरोपेली मुलुकका अनुसन्धान उपकरणहरु समेत जडान गरिएको छ ।
यो अभियानले सन् २०३० को दशकमा मानवलाई मङ्गलग्रहमा पठाउने मार्गप्रशस्त गर्ने नासाका वैज्ञानिकहरुको अपेक्षा छ ।नासाका एकजना प्रबन्धक थोमस जुर्बुचेनले आफूहरुले मङ्गलग्रहको यात्रालाई सामान्य रुपमा कहिल्यै नलिएको चर्चा गर्दै यो साँच्चिकै कठिन यात्रा भएको बताए ।मङ्गलग्रहको कक्षमा प्रवेश गर्ने, ओर्लन थाल्ने र अवतरण गर्ने चरण स्थानीय समय अनुसार बिहान ११ बजेर ४७ मिनेटमा शुरु भएको थियो । यसको सम्पूर्ण नियन्त्रण क्यालिफोर्नियास्थित पासाडेनाको जेट प्रपोल्सन प्रयोगशालाबाट भएको थियो ।बन्दुकको गोलीभन्दा तिब्र गति अर्थात् १९ हजार ८०० किलोमिटर प्रतिघण्टाको बेगमा रहेको यो यानलाई मङ्गलग्रहको वायुमण्डल छिचोल्न निकै कठिन हुने वैज्ञानिकहरुको अनुमान गरेका थिए । वायुमण्डलसँगको घर्षणका कारण यानको बाहिरी तापमान करिब एक हजार ५०० डिग्री सेल्सियस पुग्ने, र रेडियो सङ्केत समेत केही समय अबरुद्ध हुने नासाको भनाइ छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सले मङ्गलग्रहको यात्रामा प्राप्त सफलताका लागि नासाका वैज्ञानिकहरुलाई बधाइ दिनुभएको छ । राष्ट्रपति र उपराष्ट्रपतिले अन्तरिक्ष यानको अवतरणलाई टेलिभिजनमा हेर्नु भएको थियो ।

Advertisement

Advertisement