यो सरकार सिन्को भाँच्नका लागि पनि होइन्, जुम्रा मार्नका लागि पनि होइन्, संवृद्धिका लागि हो

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अहिले सरकारले केही गरेन भनेर आलोचना गरिएको प्रति असन्तुष्टि जनाउँदै सरकार गरिव, महिला, श्रमजीवी जनताको बीचमा रहेको र उनीहरुको लागि काम गर्न व्यस्त रहेको जिकिर गरेका छन् ।

योगदानमा आधारित श्रमिकहरुको सामाजिक सुरक्षा योजना कार्यान्वयनका क्रममा उनले भने, 'यो सरकारले सिन्को भाँचेन, जुम्रा पनि मारेन भन्छि । यो सरकार सिन्को भाँच्नका लागि पनि होइन्, जुम्रा मार्नका लागि पनि होइन्, संवृद्धिका लागि हो ।'

सामाजिक सुरक्षा कार्यक्रम तामझामसहित गरियो भनेर भोलि आलोचना हुने भन्दै ओलीले 'जसले देखिन, थाहा पाइन भन्छ, उसलाई देखाउन र सुनाउन यो तामझाम गरिएको हो' भने ।

अब सरकारले तामझाम र खुशीयालीका साथ काम गर्न उनले बताए । जानीबुझीकन समाजलाई निराशामा लाने प्रयास हुँदैछ भन्दै उनले भने, 'हाम्रा सपनाहरुलाई विवश बनाइएको छ । विश्वासलाई धुमिल बनाइएको छ । सपनालाई जगाउनुपरेको छ ।'

प्रधानमन्त्री ओलीले नेपालमा आर्थिक विकासको अथाह संभावना रहेको, उर्बर छ, युवा जनशक्ति छ, विकासका तरिकाहरु बुझेका मानिसहरु छन् भन्दै संवृद्धि हासिल गर्न कठिनाई नरहेको बताए ।

नौ महिनामा केही गरेन भनेर आलोचना गर्नु बेकार हो भन्दै ओलीले भने, 'नौ महिनामा दुनियाँमा कुन एयरपोर्ट बनेको छ र ? मेलम्ची रातदिन गरेर बनेको छ । सडक सफा हुँदैन् । कलंकी नागढुँगा सडक पिच गर्ने काम धमाधम भइरहेको छ । नौ महिनामा हुनुपर्ने काम भएको छ ।'

नेपाली जनता निराश हुनुपर्ने जरुरी नरहेको ओलीले बताए । उनले नेपाली समाजलाई लामो समयसम्म अल्मल्याएर मुलुकलाई अघि बढन रोक्ने काम बिगतमा भएको भन्दै अब मुलुक अल्मलिँदैन् भने । उनले मुलुकमा स्थायित्व कायम भएको भन्दै उनले यो स्थायित्व संसदमा मात्रै नभएर योजनामा, भिजनमा र कार्यान्वयनमा पनि छ भने ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरुको टिम भएन भन्ने आलोचनाको पनि प्रतिवाद गरे । उनले जनताको आदेशअनुसार परिवर्तनहरु हुँदै आएको र आफ्नो पार्टी पनि मिलेर बहुमत समेत आएको तर्क प्रस्तुत गरे ।

उदारिकरणको नक्कल गर्दै हाम्रो अर्थतन्त्रमाथि बुलजोडर चलाउने काम भएको भन्दै ओलीले ६० बर्ष पुगेपछि कम्युनिष्टहरुले गोली हान्छन् भन्ने प्रचार गरिन्थ्यो तर छाडा पुँजीवादी मुलुकहरुले नै वृद्धहरुलाई उपेक्षा गर्ने गर्छन् तर कम्युनिष्ट सरकारले नै वृद्धभत्ताको सुरुवाद गरेर वृद्धहरुले धेरै बर्ष बाँच्ने इच्छा जगाउने काम गर्यो भने ।

सुनौला एक हजार दिन जस्ता सामाजिक सुरक्षाका थुप्रै कार्यक्रम बिगतमा एमाले सरकारले सुरु गरेको ओलीले उदाहरण दिए । उनले भने, 'सामाजिक सुरक्षा कार्यक्रम सुरु भएपछि अब उमेरमा बीउ रोप्छ, वृद्धमा त्यसको प्रतिफल खान्छ, त्यो हो यो सामाजिक सुरक्षा । सामाजिक सुरक्षा भनेको दान होइन्, एक्यवद्धता हो । ढुकुटीबाट झिक्ने मात्रै होइन्, भर्दै झिक्दै गर्ने हो । यो अधिकार र दायित्वको संमिश्रण हो ।'

ओलीले अब सामाजिक सुरक्षाका दायराबाट कोही पनि बाहिर पर्दैन भन्दै यसले श्रमिकको उच्च ज्यालाको अपेक्षा र रोजगारदाताको उच्च उत्पादकत्वको अपेक्षा पूरा गर्ने दावी गरे ।

Advertisement

Advertisement

Advertisement