घलेम्दी जलविद्युत आयोजना साढे १५ लाख कित्ता आइपीओ जारी गर्ने प्रक्रियामा

Advertisement

म्याग्दी । अन्नपूर्ण गाउँपालिका नारच्याङस्थित घलेम्दी खोलामा निर्माण भइरहेको ५.५ मेगावाट विद्युत उत्पादन क्षमता भएको घलेम्दी जलविद्युत आयोजनाले सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) बिक्री गर्ने तयारी गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि १५ लाख ५५ हजार सात सय ७० कित्ता सेयर आइपीओमा बिक्री गर्ने प्रक्रिया अघि बढाएको हो ।

घलेम्दीले उत्पदन गरेको विद्युत घरापस्थित तातोपानी राना जलविद्युत आयोजनाको सवस्टेसनमार्फत कोन्द्रीय प्रसारण लाइनमा जोडिने जनाइएको छ ।

निर्माणाधिन घलेम्दी जलविद्युत आयोजनाको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । कम्पनीले आगामी फगुनमा विद्युत उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ ।

पाँच दशमलव पाँच मेगावाट क्षमताको उक्त आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक, पाइप जडान र विद्युत्गृह निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । चैत महीनाभित्रै परीक्षण उत्पादन शुरु गर्ने लक्ष्यसहित तीव्रगतिमा काम अघि बढाएको घलेम्दी हाइड्रो लिमिटेडका सचिव बिमल रिजालले बताए ।

म्याग्दीका उद्योगी व्यापारीको अगुवाइमा विसं २०७१ कात्तिकदेखि निर्माण शुरु गरिएको उक्त आयोजनाको २०७४ भदौमा एक हजार ६९५ मिटर सुरुङ निर्माण गरिएको थियो । आउटलेट (फोरवे) तर्फको एक हजार र बाँधबाट निर्माण गरिएको ६९५ मिटर सुरुङ प्लास्टर गर्ने काम भइरहेको छ ।

निलगिरिखोलाको बायाँ किनारमा विद्युत्गृह निर्माणमा दैनिक करीब १०० मजदुर परिचालन भएका छन् । विद्युत्गृहको छानो छाउने र प्लास्टर गर्ने काम बाँकी छ । आयोजनाको हेड (पावरहाउस देखि फोरवेसम्मको भाग) को दूरी १७५ मिटर अग्लो छ ।

विसं २०७४ चैतभित्र उत्पादन शुरु गर्ने लक्ष्य राखिए पनि भूकम्प, नाकाबन्दी, भौगोलिक विकटता र बैसरीमा कालीगण्डकी थुनिने गरी आएको पहिरोका कारण निर्माणमा ढिलाइ भएको कम्पनीका सदस्य राजेश शाक्यले बताए । वनसम्बन्धी कानून र झन्झटिलो प्रशासनिक प्रक्रिया पनि आयोजना ढिलाइ हुनुको अर्को कारण भएको उनको भनाइ थियो ।

पहिले चार मेगावाट रहेको उक्त आयोजनाको क्षमता बढाएर ५.५ मेगावाट बनाइएको छ । भूकम्पपछि विद्युत्गृह परिवर्तन गर्नुपरेका कारण क्षमता बढाइएको हो । चार मेगावाट हुँदा ६५ करोड रुपियाँ कुल लागत अनुमान गरिएको सो आयोजनाको निर्माण अवधि लम्बिएर क्षमता बढेसँगै लागत बढेर एक अर्ब १५ करोड रुपियाँ पुग्ने अनुमान गरिएको छ ।

एक हजार ३०० जनाको ३५ करोड ५० लाख रुपियाँको संस्थापक शेयर रहेको सो आयोजनामा लुम्बिनी र तत्कालिन टुरिजम विकास बैंकले ५५ करोड रुपियाँ लगानी गरेको छ ।

Advertisement

Advertisement

Advertisement