लगातार १२३ घण्टाभन्दा बढि नाचेर विश्व रेकर्ड बनाउन सफल

Advertisement

काठमाडौं । सत्र वर्षीया किशोरी बन्दना नेपालले लगातार १२३ घन्टा भन्दा बढी शास्त्रीय नृत्य गरेर गिनिज बुक अफ वल्र्डमा नाम लेखाउन सफल भएकी छन् । शुक्रबार बिहान ७ बजेबाट निरन्तर नाचिरहेकी उनले बुधबार १२ बजेर १६ मिनेटमा पहिलाको रेकर्ड तोडेर गिजिन बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएकी हुन् ।

काठमाडौंको बत्तीसपुतलीस्थित बिग पार्टी प्यालेसमा उनको नृत्य अहिले पनि जारी छ । गिनिज बुक अफ वल्र्डमा नाम लेखाउन सफल भए पनि नेपालले आज साँझ ५ बजेसम्म नृत्य गर्ने लक्ष्य राखेकी छन् ।

गिनिज बुक अफ वल्र्डको रेकर्डअनुसार अहिलेसम्म सबैभन्दा लामो समय नृत्यको रेकर्ड भारतले बनाएको थियो । सन् २०१६ मा केरला, भारतकी कलामण्डलम हेमलथाले लगातार १२३ घण्टा १५ मिनेट शास्त्रीय नृत्य गरेर अहिलेसम्मकै सबैभन्दा लामो समय निरन्तर नृत्य गरेको विश्व रेकर्ड गिजिन बुक अफ वल्र्ड रेकर्डमा लेखाएकी हुन् । कलामण्डलमको यो रेकर्ड तोडेर त्यो भन्दा बढी लगातार नृत्य गर्दै विश्व रेकर्ड कायम गर्ने अभियानमा बन्दना थिइन् ।

नृत्यस्थलमा ६० वटा नेपाली लोकलयका गीत निरन्तर बजिरहेको छ । ती गीतमा उनले विभिन्न नृत्य गर्दै आएकी छन् । उनले नाचेको दृश्य तीनवटा क्यामेराले निरन्तर कैद गरिरहेका छन् । कार्यक्रमस्थलमा निर्णायक पनि छन् ।

गिनिज बुक अफ वल्र्डको नियमअनुसार हरेक घण्टा नृत्य गर्दा उनले प्रतिघण्टा ५ मिनेटको समय शौचालय र पानी पिउनका लागि पाउने गरेकी छन् । त्यसबाहेक बाँकी समय उनले नृत्य रोकेकी छैनन् । नाच्दानाच्दै चिया, पानीसमेत पिउँदै आएकी बन्दनाको खुट्टा सामान्य सुन्निएको भए पनि अरू समस्या देखिएको छैन ।

महालक्ष्मी नगरपालिका–९ धनकुटाकी बन्दना अहिले काठमाडौंको चेल्सी स्कुलमा १२ कक्षा पढ्दै छिन् । उनका बाबुका अनुसार बन्दना बाल्यकालदेखि नै नृत्य भन्ने बितिक्कै हुरुक्क हुन्थिन् ।

गत वर्ष भारतको केरलामा नृत्य सिक्न जाँदा उनले निरन्तर नाचेर भारतकी कलामण्डलमले वल्र्ड रेकर्ड बनाएको बारे बुझ्ने अवसर पाएकी थिइन् । नेपाल आएपछि नाचेरै विश्व रेकर्ड बनाउने लक्ष्य राखेर उनी अघि बढ्दै आएकी थिइन् । बन्दनाले सय घण्टा निरन्तर नाचेर यो अभ्यास पूरा गरेपछि विश्व रेकर्डको अभियानमा उत्रिएकी हुन् ।’

बन्दनाले काठमाडौंको नारायणस्थानमा नृत्य प्रशिक्षण ‘केन्द्र बी एन्ड बी कल्चर सेन्टर’ पनि सञ्चालन गर्दै आएकी छन् । एक वर्षदेखि नृत्यकी गुरुआमा बनेकी बन्दनालाई हौसला दिन उनका चेलाचेली पनि कार्यक्रमस्थलमा आएर पालैपालो नाच्ने गरेका छन् । त्यहाँ पुगेको जोकोही अतिथिले पनि प्रेक्षालयमा नृत्य गरिरहँदा बन्दनाको हौसला बढेको छ ।

bandana-nepal

Advertisement

Advertisement

Advertisement