शहिद स्मारक ‘ए’ डिभिजन लिगः हिमालयन शेर्पा २-० ले विजयी

Advertisement

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लबले मछिन्द्र क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज भएको पहिलो खेलमा हिमालयन शेर्पाले मछिन्द्र क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

जितसँगै हिमालयन शेर्पा १० अङ्कका साथ अङ्कतालिकाको तेस्रो स्थानमा उक्लेको छ । लिगमा १२ अङ्क जोड्दै मनाङ मस्र्याङ्दी क्लब पहिलो स्थानमा छ । समान १० अङ्क नै जाडेको त्रिभुवन आर्मी क्लब गोलअन्तरको आधारमा दोस्रो स्थानमा छ । हिमालय शेर्पाको जितमा आशिष गुरुङ र कर्ण लिम्बूले गोल गरे ।

खेलको पहिलो हाफको २१ औं मिनेटमा हिमालयन शेर्पाका आशिषले हेडमार्फत गोल गर्दै पहिलो अग्रता लिए ।

खेलको पहिलो हाफसम्म १–० ले अगाडि रहेको हिमालयन शेर्पाले दोस्रो हाफमा एक गोल थप्यो । खेलको ८९ औं मिनेटमा हिमालयन शेर्पाका कर्णले विजयी गोल गरे । पराजित मछिन्द्र क्लबको दुई अङ्क छ ।

Advertisement

Advertisement

Advertisement