आयल निगममा ‘एमडी’ नियुक्ति गर्न एकातिर महेश बस्नेत अर्कोतिर प्रचण्डका छोरी ज्वाईं सक्रिय

Advertisement

काठमाडौं । आर्थिक लाभका हिसावले आकर्षक मानिँदै आएको नेपाल आयल निगमको कार्यकारी निर्देशक (एमडी) बनाउन सत्तारुढ नेकपामा नेता महेश बस्नेत र सो पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरी ज्वाईं जीवन आचार्य (गंगा दाहालका श्रीमान) लबिङमा लागेका छन् ।

महेश बस्नेतले उदयपुर सिमेन्ट उद्योगका बहालवाला महाप्रवन्धक सुरेन्द्र पौडेललाई बोकेर नियमितरुपमा प्रधानमन्त्री निवास बालुवाटार धाइरहेका छन् भने प्रचण्डका छोरी र ज्वाईं भने सिक्टा सिंचाई आयोजनामा पूर्वप्रमुख रमेश बस्नेतलाई नै बनाउनुपर्ने भन्दै प्रचण्ड निवास खुमलटार धाउने गरेका छन् ।

सत्तारुढ दलकै दुई वटा शक्ति केन्द्रको स्वार्थ बाझिँदा आयल निगमको एमडी नियुक्तिको प्रक्रिया साढे दुई महिनादेखि अन्योलमा परेको छ । जबकी योभन्दा निकै पछि दरखास्त आव्हान गरिएको नागरिक लगानी कोषमा यसअघि नै कार्यकारी प्रमुख नियुक्ति भइसकेको छ ।

गोपाल खड्काले राजीनामा दिएपछि रिक्त रहेको आयल निगमको एमडी पद खुल्ला प्रतिस्पर्धाबाट पूर्ति गर्न बाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको दरखास्त आव्हानमा १७ जनाले आवेदन गरेका थिए ।

आवेदन दिएपछि नै रमेश बस्नेत र सुरेन्द्र पौडेलले आफूलाई नियुक्ति गराउन सत्तारुढ दल नेकपा दुई जना अध्यक्षमध्ये एक एक जनालाई समाउँदै मन्त्री मात्रिका यादवलाई दबाब दिएपछि यादव सुचना नै रद्द गर्ने मनस्थितिमा पुगेका छन् । आफ्नो मन्त्रालय मातहतको संस्थामा आफूले चाहेको व्यक्तिलाई नियुक्त गर्न नपाउने र माथिको दोहोरो दबाब खेप्नुपरेपछि उनी प्रक्रिया रद्द गर्ने मनस्थितिमा पुगेका हुन् ।

पूर्वमाओवादी केन्द्रको भागमा परेको मन्त्रालय मातहतको नियुक्ति आफूले गर्न पाउनुपर्ने प्रचण्डको जिकिर छ । त्यसमाथि छोरी ज्वाईंले नै बारम्बार ताकेता गरेपछि उनी थप नैतिक संकटमा परेका छन् ।

निगमको एमडीको लागि सुरुदेखि नै चर्चामा रहेका सुरेन्द्र पौडेल प्रधानमन्त्रीको गृहजिल्ला झापाका हुन् । उनी भक्तपुर बस्दै आएका छन् । पौडेलको ओलीसँग त्यति निकट सम्वन्ध नभए पनि भक्तपुरमै बस्ने नेकपाका युवा नेता महेश बस्नेतसँग राम्रो रहेको, आवतजावत पनि हुने गरेको, पूर्वएमाले पनि भएकाले, बस्नेतको ओलीसँग राम्रो सम्वन्ध रहेकोले पनि उनले महेश बस्नेतमार्फत आफ्नो लागि लबिङ गर्दै आएका छन् ।

यता रमेश बस्नेत भने सिक्टा सिंचाईमा पटक पटक प्रमुख भएर काम गरिसकेका व्यक्ति हुन् । उक्त आयोजनामा अबौं रुपियाँ भ्रष्टाचार भएको समाचारहरु नियमितरुपमा आइरहेका छन् । सिक्टा संचाईको मूल नहर नै भत्किनेगरी गुणस्तनरहिन काम भएको भन्दै अख्तियारमा उनीलगायतविरुद्ध उजुरीसमेत परेको छ ।

पौडेल र बस्नेत दुवै आकर्षक ठाउँमा बसेर आर्थिक हैसियत बनाएकाले निगमको एमडीका लागि राम्रो अफर दिने हैसियत पनि राख्छन् । बाँकी रहेका १५ जना उम्मेदवारहरुले त्यति कसरतमा लागेको देखिँदैन् । यस प्रक्रियामा पौडेल र भट्टराईबाहेक नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्ले, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)मा नेपालबाट पहिलो पटक विद्यावारिधि गर्ने डा. सरोज कोइराला, नेपाल खाद्य संस्थानका पूर्वमहाप्रवन्धक शिवहरि श्रेष्ठ, निगमकै कर्मचारी प्रलङकर आचार्य, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक रामप्रसाद घिताल, अनिल झा, तारक थापा, अनन्त घिमिरे, शिवराम यादव, गोविन्द खरेल, मंगललाल श्रेष्ठ, गोवद्र्धन खड्का छन् ।

निगमको कार्यकारी निर्देशकका लागि गएको असोज भदौ २९ मा १५ दिनको म्याद दिएर आवेदन माग गरिएको थियो । छनोट समितिले १७ जनामध्येबाट पाँच जनाको नाम छनौट गर्ने र त्यसमध्येबाट नियुक्तिका लागि तीन जनाको नाम मन्त्रिपरिषदमा बनाउनुपर्ने हुन्छ ।

Advertisement

Advertisement

Advertisement