मलेसियन रेमिट कम्पनी मेक्सलाई नेपालमा कारोबारमा प्रतिबन्ध

Advertisement

काठमाडौं।  नेपाल राष्ट्र बैंकले मलेसियन रेमिट कम्पनी मेक्सलाई नेपालमा कारोबारमा प्रतिबन्ध लगाएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था तथा रेमिट कम्पनीलाई मेक्ससँग कारोबार गर्न रोक लगाएको हो । मेक्सले नेपाली कामदारसँग उठाएको रकम नेपाल नपठाएपछि राष्ट्र बैंकले यस्तो निर्णय गरेको जनाइएको छ ।

मेक्सले एभरेष्ट बैंक, हिमालयन बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, सम्सारा रेमिट, प्रभु रेमिट, आइएमई रेमिट, सिटी एक्सप्रेसलगायत नेपाली कम्पनीसँग कारोबार गर्दै आएको थियो । सबैभन्दा धेरै हिमालयन बैंकको ४९ करोड रुपैयाँ बराबरको रकम फिर्ता गर्न बाँकी रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले बताए । “नेपाल राष्ट्र बैंकले त्यो पैसा फिर्ता ल्याउनका लागि मलेसियाली केन्द्रीय बैंकलाई पनि अनुरोध गरिसकेको छ,” उनले भने, “मलेसियाली कानुनअनुसार पनि मेक्स यसरी अनियमितता गरेको पुष्टि भएमा उसको अनुमतिपत्र रद्द हुने सम्भावना छ ।”

केही महिनाअघि मेक्सले पैसा नेपाल नपठाएपछि नेपाली कम्पनीहरूले केन्द्रीय बैंकलाई अनुरोध गरेका थिए । विवाद बढ्दै गएपछि मेक्स रेमिटका प्रतिनिधि नेपाल राष्ट्र बैंक पुगेर नेपाली पक्षले दावी गरेअनुसारको रकम भुक्तानी गर्न बाँकी नरहेको समेत जिकिर गरेको थियो । यो विवाद वढ्दै गएपछि केन्द्रीय बैंकले हिमालयन बैंकमा अनुगमन गरेको थियो । यसैको प्रतिवेदनअनुसार मेक्सलाई प्रतिबन्ध नै गर्ने निर्णयमा केन्द्रीय बैंक पुगेको हो ।

Advertisement

Advertisement

Advertisement