काठमाडौं । नेपाल विद्युत प्राधिकरण व्यवस्थापनले आधिकारिक ट्रेड युनियनको निर्वाचनको मिति नजिकिएको बेला काँग्रेसनिकट कर्मचारी संघका नेताहरुलाई राजनीतिक आस्थाका आधारमा सुरुवा गर्न थालेको छ ।
शुक्रबार पूर्व एमाले र पूर्व माओवादी केन्द्र निकट कर्मचारी संगठनहरु एकीकरण पनि हुन लागेकोले सो संगठनलाई पनि खुशी पार्ने र आधिकारिक ट्रेड युनियनको निर्वाचनलाई लक्षित गरी काँग्रेसनिकट कर्मचारी संघको संगठन बलियो भएका ठाउँमा सो संगठनका नेताहरुलाई सुरुवा गरी कमजोर पार्न प्राधिकरण व्यवस्थापनले भकाभक राजनीतिक आस्थाका आधारमा सरुवा गरेको कर्मचारी संघका एक नेताले गुनासो पाखे ।
उनले कर्पोरेट नेपालले फोन गर्दै भने– आधिकारिक युनियनका लागि निर्वाचन पनि हुन लागेको छ । अर्कोतिर भोलि उनकै (प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ) आफ्नौ युनियनहरु मिल्न लाग्याछन् । उनीहरुलाई पनि खुशी पार्न खोज्या होला । छानी छानी हाम्रा युनियनका पदाधिकारीहरुलाई दुर्गम र अप्ठ्यारो ठाउँ छानेर सरुवा गर्न थालिएको छ ।
सरुवाको समय पुगेर उनीहरुलाई सरुवा गरेको भए पनि आफूहरुले आपत्ति हुन्थेन भन्दै कर्मचारी संघले काँग्रेस निकट कर्मचारी संघको पकड भएका ठाउँहरु छानेर त्यहाँका संगठनका प्रतिनिधिहरुलाई सरुवा गर्नु बदनियतपूर्ण रहेको जनाएको छ ।
सरुवा हुनेमा नारायणी क्षेत्रीय समितिका अध्यक्ष प्रकाश बस्नेत, केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष उमेशकुमार शाह, केन्द्रीय उपाध्यक्ष अर्जुनकुमार माझी, केन्द्रीय सदस्य अमनेन्द्रकुमार सिंह, जनकपुर क्षेत्रीय समितिका अध्यक्ष जगदिश शाह छन् । समय पुगेर सरुवा गरिएकाहरुप्रति आफूहरुको विरोध नरहेको स्रोतको भनाई छ ।
सरुवा गरिएकाहरुलाई कारवाहीको रुपमा सरुवा गरिएको छ । अहिले प्राधिकरणको आधिकारिक युनियनमा काँग्रेसनिकट कर्मचारी संगठन रहेको छ । यस युनियनको म्याद आउँदो फागुनमा सकिँदैछ । सोही महिना २५ गते आधिकारिक ट्रेड युनियनको निर्वाचन गराउने तयारीमा प्राधिकरण व्यवस्थापन लागेको छ ।