‘डिएसपी सा’प नमस्कार, श्रीमतीको हत्या गर्ने मै हो......!’

Advertisement

दोलखा । जिल्ला प्रहरी प्रमुख डिएसपी बासुदेव पाठकको मोबाइल फोन सेटमा मंगलबार बिहान १० बजे अपरिचित मोबाइल नम्बरबाट फोन आयो। डिएसपीले फोन उठाएपछि उताबाट आवाज आयो, ‘डिएसपी सा’प नमस्कार।’

डिएसपीले नमस्कार भन्दै सोधे, ‘को बोल्नु भएको होला ?’

उताबाट जबाफ आयो, ‘मेरो नाम तस्बिर तामाङ हो। सोमबार दिउँसो ठूलोपातल गाउँमा एउटी महिलाको हत्या भएको थियो नि। हो तिनै महिलाको हत्या गर्ने हुँ म। म उनको श्रीमान् हुुुँ। तपाईंका पुलिस मेरो पछि लागेका छन् रे। पछि नलाग्नु भन्नुस्। मेरो साथमा दुई मिटर नाइलनको डोरी पनि छ। तपाईंका पुलिसले भेटिहाले भने पासो लगाएर मर्न भनेर डोरी बोकेको हुँ। आफ्ना पुलिसलाई फर्काउनुस् सर, म भारत जान चाहन्छु। नभए रूखमा झुन्डिएर आत्महत्या गर्छु।’

(फोनमा कुरा गर्दागर्दै डिएसपी पाठकले आफ्ना बडिगार्डमार्फत प्रहरी अधिकृतहरूलाई उक्त नम्बरको लोकेसन पत्ता लगाउन संकेत गर्दै ती व्यक्तिलाई सम्झाउने र अझ खुलेर कुरा गराउने कोसिस गर्छन्।)

डिएसपी पाठकले फेरि सोधे, ‘किन हत्या गर्नुभयो त श्रीमतीको ?

जबाफमा ती व्यक्तिले भने, ‘मेरो घरव्यवहार सम्हाल्न साह्रै असहयोग गरी उसले। दुइटी छोरी सदरमुकाममा मैले नै राखेर पढाएको थिएँ। झगडा परेपछि हामी छुट्टाछुट्टै बस्न थालेका थियौं। लामो समयपछि सोमबार सालाको बिहेभोजमा ससुरालीमा श्रीमतीसँग भेट भयो। उनले मलाई तल्लो घरमा भेट्ने संकेत गरिन्। म खुसी हुँदै गएँ। तल्लो घरमा पुगेपछि दुईजनाबीच कुरा चल्दै थियो। मैले कमाएर राख्न दिएको पैसाको विषयमा कुरा निस्कियो। यही क्रममा मैले एक थप्पड हानें। उनले मेरो संवेदनशील अंगमा हानिन्। मेरो पालो छेउमा भएको काठको चिर्पटले टाउकैटाउकोमा हानेको ऊ ढली। म त्यहाँबाट भागेर अहिले रामेछाप र दोलखाको सिमानामा आइपुगेको छु। मैले उसले लगाएको सिक्रीसमेत बोकेको छु। मेरो चरिकोट बैंकमा पैसा पनि छ। म यो सिक्री र पैसा छोरीलाई दिएर इन्डिया भाग्न चाहन्छु। मलाई भाग्न दिनुहुन्छ भने दिनुस् नभए आत्महत्या गर्छु।’

(कुरा गर्दागर्दै उताबाट फोन काटियो।)

प्रहरीले तुरुन्तै उनको लोकेसन ट्र्याक गर्यो। लोकेसनमा रामेछापको रस्नालु डाँडो देखियो। इलाका प्रहरी कार्यालय जिरी, रामेछापको बेताली प्रहरीचौकी, खिम्ती र दोलखाकै किर्नेटार प्रहरीचौकीबाट उनलाई खोज्न ३५ जना परिचालित भए।

प्रहरीलाई प्राप्त घटना विवरणअनुसार तस्बिरले सोमबार दिउँसो जिल्लाको जिरी नगरपालिका–९ ठूलोपातलस्थित खोलाखर्कमा ससुराली गएका बेला श्रीमती राममाया तामाङको हत्या गरेका थिए। सदरमुकाम चरिकोटमा भारी बोक्ने काम गर्दै आएका तस्बिर ससुरालीमा श्रीमतीको हत्यालगत्तै फरार भएका थिए। उनलाई पक्राउ गर्न प्रहरीले पनि खोजी तीव्र पारेको थियो। दोलखा र रामेछापका सबै प्रहरी युनिटका प्रहरीको मोबाइलमा तस्बिरको फोटो पठाइएको थियो।

आफैंले खोजिरहेका अभियुक्तले फोन गरेपछि डिएसपी पाठकले सम्झाईबुझाई प्रहरीको सम्पर्कमा आउन मनाउन अनेक कोसिस गरे। फरार अभियुक्त जीवितै पक्राउ गर्नुपर्ने चुनौतीमा रहेको प्रहरीलाई कतै तस्बिरले आत्महत्या गरिहाल्छन् कि भन्ने चिन्ता पनि थियो।

पहिलोपटक काटिएको फोन एक घन्टापछि फेरि आयो। आफूलाई तस्बिर बताएका ती व्यक्तिले रस्नालुडाँडोको जंगलमा पुगेको बताए। उनले फेरि पनि डिएसपीसँग बार्गेनिङ गर्दै भने, ‘मेरो पछिपछि प्रहरी लगाएको छ भने फर्काउनुस् अन्यथा जंगलको रूखमा झुन्डिएर आत्महत्या गर्छु।’ डिएसपी पाठकले नभाग्न र प्रहरीको सम्पर्कमा आए कम सजाय गरिदिने भन्दै उनलाई फकाउन थाले। तस्बिरले पनि डिएसपी पाठकलाई आफ्नो घरव्यवहारको बेलीविस्तार सुनाउन थाले। पाठक उनको कुरा सुनिरहे। प्रहरी टोली पनि रस्नालुतर्फ गइरहेको थियो।

पटकपटक फोन गरी पक्राउ गर्न खोजे आत्महत्या गर्ने धम्की दिइरहेका तस्बिरको मोबाइल मंगलबार साँझ ४ बजेपछि अफ भयो। मोबाइल बन्द भएपछि उनको लोकेसन पत्ता लगाउन सकिँदैनथ्यो। प्रहरीले छिनछिनमा उनको मोबाइलमा फोन लगाउन केही जवानलाई जिम्मा दियो। मंगलबार राति १ बजे उनको मोबाइल खुल्यो। लोकेसन दोलखाको सहरस्थित किर्नेटार क्षेत्र देखियो। बुधबार बिहान ३ बजे जिल्ला प्रहरी कार्यालयबाट इन्सपेक्टर माधव काफ्लेको कमान्ड तथा किर्ने वरपरका दोलखा र रामेछापका सबै युनिटबाट प्रहरी टोली त्यसतर्फ परिचालित भयो। किर्नेटार पुगेर झिसमिसेमै घरघरमा सर्च गरे पनि तस्बिरलाई प्रहरीले भेट्टाउन सकेन।

रामेछाप जिल्लाका प्रहरी प्रमुख अमरेन्द्रबहादुर सिंहले बुधबार बिहान करिब ८ः३० बजे दोलखाका प्रहरी प्रमुख डिएसपी पाठकलाई फोन गरे। सिंहले भने, ‘तस्बिर तामाङ मन्थली नजिकबाट फक्राउ परे।’ त्यसपछि डिएसपी पाठकले ढुक्कको सास फेरे। प्रहरी जाँचका क्रममा ट्रकमा भेटिएका तस्बिरलाई रामेछाप प्रहरीले पक्राउ गरेको थियो।

डिएसपी पाठकले धम्क्याएर भए पनि उम्किन सक्छु कि भन्ने आपराधिक मनोविज्ञान तस्बिरमा देखिएको बताए। ‘उनी चरिकोट बजारमै कुल्ली काम गर्ने भएका कारण केही टाठो स्वभावका रहेछन्’, डिएसपी पाठकले भने, ‘आत्महत्या गर्छु भनेपछि प्रहरीले वास्ता गर्दैन कि भनेर फोनबाट बार्गेनिङ गरिरहे।’ पाठकले २४ घन्टाको निरन्तर प्रयासपछि तस्बिरलाई नियन्त्रणमा लिन सफल भएको बताए।

पक्राउ परेका तस्बिरमा श्रीमतीको हत्या गरेकोमा पछुतो छैन। पाठकका अनुसार चरिकोटमा पढ्दै गरेका साना छोरीहरूको भविष्यप्रति उनको चिन्ता छ। उनकी जेठी छोरी १० कक्षामा र कान्छी ५ कक्षामा चरिकोटस्थित सामुदायिक स्कुलमा पढ्छन्।
आजको नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement