चुलिँदै व्यापार घाटा, चार महिनामा साढे चार खर्ब नाघ्यो

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम चार महिनामा देशको व्यापार घाटा ४० दशमलव ३ प्रतिशतले वृद्धि भएर चार खर्ब ५४ अर्बमा पुगेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र(टीईपीसी)को तथ्यांक अनुसार यस अवधिमा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९४.३ प्रतिशत र निर्यातको हिस्सा ५.७ प्रतिशत छ ।

टीईपीसीका अनुसार गत आवको यसै अवधिको तुलनामा यस आवमा वैदेशिक व्यापार ३६.१ प्रतिशत वृद्धि भएको छ । चार महिनामा पाँच खर्ब १३ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस अवधिमा आयातको वृद्धि ३८.१ प्रतिशत हुँदा निर्यात भने १०.७ प्रतिशतले मात्रै वृद्धि भएको छ । यस अवधिमा नेपालले झण्डै पाँच खर्ब रुपैयाँका वस्तु आयात गरेको छ ।

साउनदेखि कात्तिकसम्म खाद्यन्न, तयारी पोसाक विद्यतुीय,पेट्रोलियमलगायत गरी चार खर्ब ८३ अर्ब ७५ करोड ३८ लाख रुपैयाँका वस्तु आयात भएको टीईपीसीको तथ्यांकले देखाएको छ । यस अवधिमा २९ अर्ब २८ करोड रुपैयाँका नेपाली वस्तु विभिन्न मुलुकमा निर्यात भएका छन् ।

चार महिनाको अवधिमै यति ठूलो व्यापार घाटा हुनु देशको अर्थतन्त्रको लागि निकैनै जोखिमको अवस्था भएको विज्ञहरु बताउँछन् । यदि कुनै कारणवस व्रिपेषण आप्रवाहमा कमि आएको खण्डमा अर्थतन्त्र ठूलो समस्यामा पर्ने उनीहरुको भनाइ छ । नेपाल राष्ट्र बैंकका अनुसार यस आवको पहिलो तीन महिनाको अवधिमा शोधनान्तर घाटा ३५ अर्ब नाघेको छ ।

यही क्रममा व्यापार घाटा बढेको खण्डमा शोधनान्तर घाटा बढ्ने र विदेशी विनिमय सञ्चिती घटेदै गइ अत्यावश्यक वस्तु आयात गर्नका लागि आवश्यक विदेशी मुद्रानै अभाव हुने समस्या आउन सक्छ । यस्तो अवस्था आउन नदिन सरकारले विलासिता र सुबिधाजनक वस्तुको आयातलाई कर तथा गैर कर अबरोधको सहायताले निरुत्साहित गर्दै आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।

नेपालले भारत, चीन, फ्रान्स, थाइल्यान्ड, स्विट्जरल्यान्ड, मलेसिया, क्यानाडा, भियतनामलगायत मुलुकसँग व्यापार गर्दै आएको छ । कुल आयात हिस्सामा पेट्रोलियम पदार्थ तथा खाद्यान्नले मात्रै ३० प्रतिशत हिस्सा ओगटेको छ । अन्य ठूलो परिमाणमा आयात हुने वस्नुमा फलाम तथा फलामजन्य वस्तु, सवारीसाधन तथा पार्टस्, हवाइ जहाज तथा यसको पार्टस् आदि रहेका छन् ।

गत वर्षको यसै अवधिको तुलनामा यस वर्ष अलैंची निर्यात १९.६ प्रतिशत घटेकोे छ । यस वर्ष ९६ करोड ७३ लाख रुपैयाँको अलैंची निर्यात भएको छ । यस वर्ष धागो, ऊनी गलैंचा, तयारी पोसाक, मुसुरो दाल, चाउचाउ, रोजिन तथा रेजिनका एसिड, जडीबुटी, जुत्ता, अदुवा, मासु, फलाम तथा फलामका उत्पादन, जुस, चिया, कपडा, पस्मिना सल, जुटका झोला तथा बोरा र अन्य सामग्रीको निर्यातमा भने वृद्धि भएको छ ।

Advertisement

Advertisement

Advertisement